काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःले गरिबी उन्मुलनको थालनी गरेकाले उनलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको बताएका छन् ।
भक्तपुरको ठीमीमा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा नेपाल संवत् ११४२ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गराएको समेत बताए ।
साख्वाःको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएको प्रधानमन्त्री देउवाले बताए । राष्ट्रिय विभूति साख्वाःले विसं ९३७ (ईसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।




