काठमाडाैं । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज नहुने भएको छ ।
गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो । इजलासले बहस नोटसमेत मगाउने गरी आजका लागि तोकेको थियो ।
बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो । न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयमा कारबाही गर्न नसकिने निष्कर्ष निकालेकाे थियाे । तर तत्कालीन मन्त्रीहरु तत्कालीन मन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी लगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यहि मन्त्रिपरिषदबाट भएका निर्णयमा अनुसन्धान नहुने तर विभागीय मन्त्रीलाई मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।




