काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनको नेतृत्व चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा भएको छलफलबारे प्रवक्ता महराले भने,‘‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा हामीले सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हुनेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरू समान हैसियतका छन्, समान क्षमता राख्छन् । ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’
प्रवक्ता महराका अनुसार पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । जुन प्रस्तावमाथि अर्को बैठक बसेर निर्णय हुनेछ । स्थायी कमिटिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नामका बारेमा भने कुनै छलफल नभएको प्रवक्ता महराले जानकारी दिए ।




