समाचार

कांग्रेस पदाधिकारी बैठक स्थगित, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजेका लागि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक स्थगित गर्दै देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत बताइएको छ ।

हिजो मात्रै प्रधानमन्त्री देउवा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा देउवाले आफ्नो सरकारमा सहभागी हुन नेपाल पक्षलाई आग्रह गरेका थिए । यसमा नेता नेपालले अहिले सरकारमा सहभागी नहुने जवाफ दिएको स्रोतको दाबी छ । तर, विश्वासको मत भने दिने उनको वचनबद्धता थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नेता नेपाललाई एमालेभित्र अप्ठ्यारो भए त्यसका गाँठो फुकाउनसमेत आफू तयार रहेको विश्वास दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *