समाचार

दोस्रो चरणको सडक आन्दोलन घोषणा गर्दै प्रचण्ड–माधव नेपाल समूह

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड(नेपाल समूह) ले शनिबार दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने भएको छ । पहिलो चरणका कार्यक्रम सकिएको चार दिन बितिसक्दा पनि आन्दोलनका कार्यक्रम घोषणा नहुनुले कतै आन्दोलन नै सेलाउन पुगेको त होइन भन्ने आशंका गरिएको थियो ।

मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड(नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसको सहमति कुरेर बसेको सो समूह अब एक्लै सडकमा जाने भएको छ ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड नेपाल समूह एक्लैले दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्न लागेको छ । नेकपा नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेपछि सबै दल आ–आफ्नै ढंगले सडक आन्दोलनमा उत्रिएका छन् । ओली नेतृत्वको नेकपाबाहेक सबै आन्दोलित भए पनि एकजुट हुन सकेका छैनन् । कांग्रेसले अदालतको फैसला कुरेर बसेको छ । संसद् पुनःस्थापना नभए चुनावमा जाने कांग्रेसको भित्री तयारी छ । यदि चुनाव हुन नसके के गर्ने भन्ने कांग्रेसले निर्णय गरिसकेको भने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *