समाचार

ओलीविरुद्ध विप्लवसहित चार कम्युनिस्ट एकजुट

काठमाडौं । सडकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, प्रचण्ड–माधव नेपाल (नेकपा), जसपा आन्दोलित भइरहँदा प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध छरिएर रहेका चार कम्युनिस्ट घटक एक भएका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाएको छ । विप्लव नेकपाले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गरेको हो ।

मंगलवार चार पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरंकुशता, फाँसीवाद र दलाल तथा प्रतिक्रियावादी राज्य सत्ताविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिने छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *