काठमाडौं । चिनियाँहरू भन्ने एउटा र गर्ने अर्को कसरी गर्दा रहेछन् भन्ने उदाहरण नेपालमा आएको चिनियाँ प्रतिनिधिमण्डलले पुष्टि गरेको छ । नेकपाको विवाद समाधानका लागि नेपाल आएका चिनियाँ उपमन्त्री गुओ येचौ कसको निमन्त्रणमा आएको भन्ने अझै खुलेको छैन । तर, उनले आइतबार राति नै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति भण्डारीसँग साँझमा शीतल निवास र प्रधानमन्त्री ओलीसँग अवेर राति भेटवार्ता गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले पुष्टि गरेका छन् ।
टोलीले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा अझै औपचारिक जानकारी गराएको छैन ।
उपमन्त्री येचौको टोलीले दुई खेमामा विभाजित नेकपाका नेताहरुलाई एकताका लागि दबाव दिने बताइएको छ । टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई आजै भेट्ने बुझिएको छ ।
येचौ यसअघि पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ सालमा काठमाडौं आएका थिए । उनलाई नेकपा एकताको बाहिरी सूत्राधार पनि मानिन्छ ।




