सुर्खेत।दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला-धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२-००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका-६ का देवबहादुर खड्का, वीरेन्द्रनगर-१५ का खड्गबहादुर बुढाथोकी, उहाँको श्रीमती गोमा बुढाथोकी रहेका छन। दुर्घटनामा चार जना घाइते भएका छन । चिङ्गाड गाउँपालिका- ६ का दुर्गाबहादुर गाहा, उहाँको श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर-८ का नरे नेपाली र वीरेन्द्रनगर-१६ का लक्ष्मी ज्ञवाली घाइते भएका छन । जीपमा सात यात्रु सवार थिए ।
घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको बताए।




