अर्थ

उन्नत जातको बढ्दो आकर्षणसँगै गाउँघरबाट हराउँदै रैथाने तरकारी

बर्दिया । कुनै समय गाउँघरका बारीमा लटरम्म फल्ने बोडी, काँक्रा, लौका, फर्सी र भिण्डीजस्ता रैथाने तरकारी पछिल्लो समय हराउँदै गएका छन्। बढैयाताल गाउँपालिका–३ का किसान जोधनी थारुको बारीमा केही दशकअघिसम्म प्रशस्त उत्पादन हुने रैथाने तरकारी अहिले लगाउँदा पनि उत्पादन घटेको छ।

थारुले यस वर्ष मकैसँगै रैथाने तरकारीका बीउ छरे पनि अपेक्षाअनुसार उत्पादन लिन सकेनन्। उम्रिएका बोटमा समेत फल कुहिने र कीरा लाग्ने समस्या देखिएको उनको भनाइ छ।

“पहिला बारीमा लटरम्म रैथाने टोंरै, भिण्डी, बोडी र काँक्रा फल्थे। त्यही तरकारी खाएर वर्ष बित्थ्यो,” उनले भने, “अहिले बोट उम्रिए पनि राम्रोसँग फल्दैनन्, फलेका बोटमै कुहिने र कीरा लाग्ने समस्या देखिएको छ।”

उनका अनुसार विगतमा यही समयमा स्थानीय काँक्रा निकै ठूला हुने गर्थे। एउटा काँक्रा एकैपटक खान नसकिने अवस्था रहे पनि अहिले त्यस्ता स्थानीय काँक्रा पाउनै मुस्किल भएको उनले बताए।

यस वर्ष थारुले स्थानीय र उन्नत दुवै जातका काँक्राको बीउ लगाएका थिए। दुवै जातका बोट उम्रिए पनि रैथाने काँक्राको उत्पादन भने निकै कम भयो। यसको कारण जलवायु परिवर्तन वा उन्नत जातको प्रभाव हुनसक्ने उनको अनुमान छ।

रैथाने तरकारीको खेती घट्दै जाँदा गाउँका बारीमा पहिलेजस्तो विविधता देखिन छाडेको छ। विशेषगरी मकैसँगै बोडी र काँक्रा लगाउने पुरानो चलन हराउँदै गएको स्थानीय बताउँछन्। मकैको बोटलाई नै आधार बनाएर बोडी र काँक्राका लहरा फैलाउन सकिने भएकाले छुट्टै संरचना बनाउनुपर्ने झन्झटसमेत हुँदैनथ्यो।

“पहिले गाउँका अधिकांश मकैबारीमा बोडी र काँक्रा लगाइन्थ्यो,” थारुले भने, “अहिले बजारमा पाइने बीउ लगाउने चलन बढेपछि पुराना बीउ हराउँदै गएका छन्।”

बढैयाताल गाउँपालिकाकी स्थानीय दुसानी थारुका अनुसार किसानको आकर्षण पछिल्लो समय बजारमा सहजै पाइने उन्नत जातका बीउतर्फ बढेको छ। छोटो समयमै राम्रो उत्पादन दिने र बजारमा बिक्री गर्न पनि सहज हुने भएकाले किसानले रैथानेभन्दा उन्नत जात रोज्न थालेको उनले बताइन्।

बढैयाताल गाउँपालिकाका कृषि विकास शाखा प्रमुख दीपेन्द्र श्रीवास्तवले पनि उन्नत जातका बीउबाट तुलनात्मक रूपमा राम्रो उत्पादन हुने भएकाले किसानको आकर्षण बढेको बताए।

पालिकाले रैथाने बीउविजनको संरक्षण र उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्दै आए पनि व्यावसायिक उत्पादनतर्फ लागेका किसानले उन्नत जातलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ। यद्यपि पालिकाभित्र केही किसानले रैथाने बीउ अझै पनि वर्षौंदेखि घरमै संरक्षण गर्दै आएका छन्।

कृषि विकास शाखाका अनुसार तरकारीखेती व्यावसायिक बन्दै जाँदा किसानको प्राथमिकता पनि परिवर्तन भएको छ। घरायसी उपभोगका लागि मात्रै तरकारी उत्पादन गर्ने परम्परा घट्दै गएर बजारलाई लक्षित गरी खेती गर्न थालेपछि किसानले उत्पादन र आम्दानीलाई ध्यान दिँदै उन्नत जातका बीउ रोज्न थालेका हुन्।

यससँगै स्थानीय बीउ, परम्परागत खेती प्रणाली र रैथाने तरकारीको स्वाद तथा विविधता संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *