काठमाडौं । म्यूजिकल लभस्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरेको हो । गीतमा चलचित्रका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा पनि देखिएकी छन् ।
सुदर्शन थापा निर्देशित फिल्मको गीतमा सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा कलाकारको अभिनय ठिकठिकै छ । फागुन २३ गतेबाट प्रदर्शन हुने चलचित्र सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् ।




