मुख्य समाचार

मुख्य समाचार : एसपीपीका बारेमा गठबन्धनका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गर्ने, एमालेको दोहोरो चरित्र देखिएको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) खारेज गर्नुपर्ने बताएका छन् । पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद उत्पन्न भएको भन्दै सरकारले यसलाई खारेज गर्नुपर्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर भएको उनले बताए ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने स्पष्ट परेका छन् । मुलुकको राष्ट्र हितबिपरित नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने उनले बताएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको बताएका छन् । रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमाले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको दाबी गरेका हुन् ।

संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले जेलमा रहेका सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराई डिल्लीबजारस्थित कारागार पुगेर चौधरीसँग भेटवार्ता गरेका हुन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् । शनिबार धनगढी उप–महानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल प्रतिष्ठानका लागि तत्कालै मन्त्रीपरिषद्बाट निर्णय गरेर विधेयक निर्माणको कार्य अघि बढाइने बताए ।

भारतबाट भन्सार छलेर नेपाल ल्याएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको रासायनिक मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन् । शनिबार धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् ।

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि आइतबारबाट बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।

सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *