मुख्य समाचार

जनतालाई समस्या पर्दा सहयोग गर्ने कांग्रेस मात्रै हो–पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले जनतालाई समस्या पर्दा सहयोग गर्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा कांग्रेस अगुवा कार्यकर्ता भेलामा बस्नेतले देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट ज्यान गुमाउनेहरुलाई व्यक्तिगत तरिकाले २५ हजार रुपैया सहयोग गरेको तर कम्युनिष्टहरुले केही गर्न नसकेको बताएका हुन् । उनले भने,‘देशभर आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरुलाई प्रतिपरिवार २५ हजार रुपैया वितरण गरेका छौं । यो सरकारले दिएको रकम पनि हैन । पार्टीले दिएको रकम पनि हैन । मनकारी साथीहरु मिलेर देशभरी बाँडिरहेका छौं । कम्युनिष्टहरुले दिएको कहिलै सुन्नुभएको छ ।’

बस्नेतले सिन्धुपाल्चोकमा आएको प्राकृतिक विपत्तीमा समेत सहयोग गरिरहेको बताए । उनले २०७१ सालमा आएको जुरे पहिरोदेखि अहिलेको वर्षामा आएको विपत्तीमा समेत सहयोग गरेको स्पष्ट पारे । कम्युनिष्टहरुले आफुले पनि सहयोग नगर्ने र कांग्रेसले गर्ने सहयोग पनि रोक्ने काम गर्ने गरेको उनले बताए । ‘चुनाव हारोस वा जितोस । सरकारमा होस वा नहोस् पार्टी कार्यकर्ता र जनताको सुरक्षा गर्न नसक्ने नेता हुनसक्दैन । जुरे पहिरोका बेला समेत हामीले पहिरोपीडितलाई बाँड्यौं । तर कम्युनिष्ट पार्टीले विरोध गरे । अहिले पनि ८ करोड रुपैया सरकारको खातामा थन्किएको छ ।’

चुनाव हारेपनि जितेपनि जनताका पक्षमा निरन्तर काम गरिरहेको भन्दै नेता बस्नेतले भने,‘यसवर्षको वर्षामा आएको बाढीका कारण बाटो समेत भत्केका बेला ४० ट्रकभन्दा बढि खाद्यान्न हेलम्बु पठाएको थियौं । रगत नपाएर कोही मर्ला भनेर मध्यपुर ठीमी नगरपालिकाको सहयोगमा रगत राख्न मिल्ने फ्रिज राखेका छौं । हाम्रो रगत कम्युनिष्टलाई पनि काम लाग्छ भनेर मैले पहिला नै भनिसकेको छु ।’

कांग्रेसले कांग्रेसलाई नै भोट नहालेका कारण चुनाव हार्नुपरेको भन्दै उनले कम्युनिष्टले शासन चलाउँदा समस्या मात्रै आउने पछिल्लो उदाहरण रहेको समेत बताए । कम्युनिष्टले स्वार्थ नमिल्दा आफनै नेता कार्यकर्तालाई समेत पाखा लगाउने गरेको भन्दै उनले आफुले चुनाव हारे पनि जितेपनि सधै जनताको पक्षमा काम गर्ने बताए ।

उनले भने,‘कांग्रेसले हिजो चुनाव तजिन्तुको तिनवटा कारण छ । पहिलो कांग्रेसले कांग्रेसलाई नै भोट हालेन । दोस्रो कांग्रेसले सरकार बनाउँदा जति पनि राम्रो काम भयो त्यो कुरा हामीले जनतालाई भन्न सकेनौं । अर्को भनेको कम्युनिष्टहरुले जति फटाहा कुरा गरेपनि हामीले त्यो हैन भनेर भन्न सकेनौं ।’

नेता बस्नेतले विकासका लागि रकम अभाव हुन नदिने भन्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कांग्रेसको विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका बस्नेतले अगुवा कार्यकर्ता भेलामा पाँचपोखरी थाङ्पाल गाउँ पालिका वडा नम्बर–२ बरुवा याङ्गीलार्केमा गत असार १ गतेको बाढी र पहिरो कारण घरबारबिहिन भएका एकसय परिवारलाई खाद्यान्न बितरण गरे ।

क्षेत्रीय प्रतिनिधि प्रकास सापकोटाको संयोजनमा नेपाल लोकतान्त्रिक खेलकुद संंघका केन्द्रिय सदस्य फुर्साङ लामा तामाङ, दावा जाङ्बु शेर्पा, बुनु सापकोटा,र सुबिन्द्र तामाङ लगायतले खाद्यान्न सहयोग गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *