काठमाडौं । नेकपा एमालेले भोलि संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबारको संसद बैठकमा एमाले सांसदहरुले गरेको विरोध प्रदर्शनको शैलीको चौतर्फी आलोचना भएपछि त्यसबारेमा सचेत बनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
आज बसेको स्थायी कमिटिको बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । उनले शुक्रबारको संसद बैठकमा सांसदहरुले गरेको विरोध प्रदर्शन शिष्ट र सभ्य रहेको दाबी समेत गरे । उनले भने,‘एमालेलाई संसदीय अभ्यास थाहा छ । शुक्रबारको बैठकमा पनि सभ्य र शिष्ट रुपमा विरोध भएको थियो ।’
सचिव भट्टराईले शुक्रबारको बैठकमा भएको विरोध समेत शिष्ट भएको दाबी गरे । माइकले सभामुखलाई हान्ने योजना रहेको एमाले सांसद रेखा झाले बताएको विषयमा सोधिएको प्रश्नको जवाफमा उनले भने‘माइकले कसैले हानेको छैन । हान्ने भनेको मात्रै हो । विरोधको सिमाका बारेमा छलफल गर्न आइतबार मध्यान्ह १२ बजे बैठक बोलाइएको छ ।’ एमालेले संसद अवरुद्ध गरिरहने समेत उनले बताए ।




