काठमाडौं । सर्वोच्च अदालतले चार न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ।
सर्वोच्चले विज्ञप्ति जारी गर्दै शुक्रबार केही सञ्चारमाध्यमका संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग भेटेको समाचारको खण्डन गरेको हो ।
‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचारम सम्प्रेषण हुनु दुखद र खेदजनक विषय हो।
अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने गरी, सत्य र यथार्थ नबुझी समाचार प्रकाशन गर्नाले न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यसप्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यस प्रकारको कामबाट सम्पूर्ण प्रेस जगतप्रतिको विश्वसनीयतामा पनि आँच आउन सक्ने अवस्था रहन्छ।
यसप्रकारका कार्यहरू पत्रकार आचारसंहिता र कानुन प्रतिकूल पनि हुनाले कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदै सम्प्रेषित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध छ।’ विज्ञप्तीमा भनिएको छ ।




