काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई निराशाजनक र अत्यास लाग्दो गोलचक्करबाट मुक्त गर्नु पर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै उनले अहिलेको व्यवस्थाले देशमा परिवर्तन सम्भाव नभएको र त्यसका लागि वैज्ञानिक समाजवादलाई अगाडि बढाउनु पर्ने बताएका हुन् ।
‘नेपाललाई आजको यो गोलचक्कर, निराशापूर्ण गोलचक्कर, अत्यास लाग्दो गोलचक्करबाट मुक्त गरेर सुन्दर नेपालतर्फ लैजाने गरी बहसलाई केन्द्रित गर्नु पर्छ,’ उनले भने ।
‘हामीले भनेका छौँ, यही व्यवस्थाभित्र घुमेर होइन । यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नु पर्छ । त्यो सर्तमा नेपालमा एउटा रुपान्तरकारी बहस होस्,’ उनले अगाडि भने, ‘त्यसमा देशभक्ती तथा लोकतान्त्रिक सबै शक्तिहरुसँग हामी सहभागी हुन पाउँ । खुला ढंगले सबै विषयमा हामी छलफलमा आउँछौँ ।’
नेपालमा वैज्ञानिक समाजवाद आवश्यक रहेकोमा जोड दिँदै विप्लवले राजनीतिक दलहरु विदेशीको दलाल र विदेशीमा आश्रित भएको आरोप लगाए ।
उनले भने, ‘यसलाई विश्लेषण गर्दै आत्मनिर्भर नेता र पार्टी बनाउन आवश्यक छ ।’
उनले दलाल पुँजीपतिहरु नेपालको समस्या भएको पनि टिप्पणी गरे ।




