ताजा समाचार

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै

काठमाडौं । सत्ता गठबन्धन दलको कार्यदलले, सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा आज (शनिबार) गठबन्धनका शीर्ष नेतासमक्ष पेस गर्दै छ । मुलुकको आर्थिक सुधार र सुशासनलाई प्राथमिकता दिँदै सरकारको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा कार्यदलले तयार पारेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम् साझा कार्यक्रमको मस्यौदालाई शुक्रबार अन्तिम रुप दिएको हो । कार्यदलले मस्यौदा शनिबार गठबन्धनका शीर्ष नेतासमक्ष पेस गर्नेछ । संयन्त्रले पारित गरेपछि यसलाई सार्वजनिक गरिनेछ ।

सरकारको न्यूनतम् साझा कार्यक्रममा न्यायपालिका सुधारका लागि सुझाव दिन आयोग गठन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, हरेक घरलाई वर्षायाममा ५० युनिट र हिउँदमा ३० युनिट बिजुली निःशुल्क दिने उल्लेख छ । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावकारी बनाउन जनशक्ति र स्रोत साधन सम्पन्न बनाउने कुरा पनि मस्यौदामा समेटिएको छ ।

यसअघि सत्ता गठबन्धन दलले आ-आफ्नो सुझावसहितको मस्यौदा कार्यदलमा बुझाएका थिए । तिनै सुझाव समेटेर मस्यौदा बनाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *