ताजा समाचार

काठमाडौं-७ : एमालेलाई रामवीर चुनौती, मानुषीलाई कति सहज ?

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ सुरुदेखि नै चर्चामा छन । यो क्षेत्रमा नेकपा एमालेका स्थापित नेता रामवीर मानन्धर स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । उनी आफू चुनाव जित्नेमा ढुक्क पनि छन् ।

यस्तै, मानुषी यमी पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी छन् । २०६५ मा स्ववियु निर्वाचनमा सचिवमा अत्याधिक मतले विजयी भएपछि राजनीति यात्रा सुरु गरेकी मानुषीका लागि यो निर्वाचन अग्नि परीक्षा जस्तै हो । तर, अहिले मानुषीको पनि चर्चा चुलिँदैछ । युवा उम्मेदवार भएकाले पनि उनलाई युवाको समर्थन मिलिरहेको छ ।

साथै, मानुषी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । यो क्षेत्रमा नेकपा एमालेले पनि गठबन्धन गरेको छ । एमालेले यो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठ उम्मेदवार बनाएको छ ।

यसअघि यो क्षेत्रमा एमालेका रामवीरले चुनाव जित्दै आएका थिए । तर, यस पटक पार्टीबाट टिकट नपाएपछि रामवीरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैले यस पटक यो क्षेत्रमा एमालेलाई चुनाव जित्न सहज छैन ।

काठमाडौं– रामवीरको बलियो पकड क्षेत्र पनि हो । त्यसैले यस निर्वाचनमा रामवीर मानुषीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, कसले जित हासिल गर्छ भन्नेचाहिँ अहिले नै यकिन गर्न सक्ने अवस्था छैन ।

स्थानीय निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ ।

त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्दले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट संख्या २ हजार २०६ रहेको छ ।

स्थानीय निर्वाचनमो मतभारअनुसार गठबन्धनकी उम्मेदवार मानुषीका लागि बढी अनुकूल छ । गठबन्धन दलहरूको भोट एकत्रित गर्न सक्दा उनी विजयी हुनसक्ने देखिन्छ । उनका प्रतिस्पर्धी रामवीर मानन्धरले काट्ने एमालेको भोटले पनि मानुषीलाई केही फलिफाप गर्न सक्छ ।

र, युवा उम्मेदवार हुनु पनि मानुषीका लागि अर्को अनुकूलता हो । तर, चुनावी चलखेलका एकसेएक अनुभवी प्रतिस्पर्धीहरूको छेकबार छिचोल्नु र रूखमा ठप्पा लगाउने बानी परेका कांग्रेस समर्थकको स्वस्तिकलाई हँसिया हथौडामा पार्नुपर्ने चुनौती उस्तै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *