काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन् ।
नेपाल प्राध्यापक सङ्घको ६० औँ वार्षिक दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा जिम्मेवार भएर विश्वविद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका छन् ।
विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाई छ । त्यस्तै उनले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी संवाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरूले पढ्न चाहेको विषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरू सुधार गर्नुपर्ने गम्भीर चुनौतीमा रहेको बताए ।
उनले विश्वविद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सबै समस्याहरूलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राखे ।
मन्त्री पौडेलले प्राध्यापकको पेसागत हक हितका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।




