ताजा समाचार

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताए । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताउनुभयो । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उनको भनाइ छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताए। समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उहाँले बताउनुभयो । यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *