साउन २५ गते बिहिबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य
सीआईबीद्वारा सांसद शर्मा पक्राउ परेको संसद सचिवालयलाई जानकारी
कामठाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको बारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको हो ।
सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले पक्राउ गरिएको उल्लेख छ ।साथै सीआईबीले शर्मा जिल्ला मोरङ(३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य शर्मा पक्राउ परेको जानकारी सभामुखलाई गराएको उल्लेख छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेकोछ । सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ।कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सीआईबीबाट जानकारी लिएपछि धारणा बनाउँछौं : रमेश लेखक
नेपाली कांग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोबारे जानकारी लिइरहेको बताएको छ ।
संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताए । उनले भने, ‘केका लागि किन पक्राउ गरेका भन्ने थाहा लागेपछि धारणा सार्वजनिक गछौं।’ उनले सभामुख र सिआइबीबाट जानकारी लिएपछि आधिकारी धारणा बनाउने बताए ।
नेपाली कांग्रेस संसदीय दलको बैठक साउन २६ गते बस्ने
नेपाली कांग्रेस संसदीय दलको बैठक साउन २६ गते बस्ने भएको छ । कांग्रेस संसदीय दलको बैठक शुक्रबार दिउँसो दिनको १ः०० बजे नयाँ बानेश्वर स्थित ल्होत्से हलमा बस्ने भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
यस्तै समाचार संकलनका लागि सोही समयमा उक्त स्थानमा उपस्थित हुन सबै संचारमाध्यमहरुलाई समेत नेपाली कांग्रेस संसदीय दलको कार्यालयले आग्रह गरेको छ ।
शुक्रबारका लागि तय भएको राष्ट्रियसभा बैठकमा पाँचवटा सम्भावित कार्यसूची पेश हुने
नेकपा एमाले अवरोधका कारण निरन्तर स्थिगित हुँदै आएको राष्ट्रिय सभा बैठक पुनः शुक्रबार बस्ने भएको छ । शुक्रबार बस्ने राष्ट्रिय सभाको बैठकका लागि संघीय संसद सचिवालयले विभिन्न ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठक बिहान बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।संभावित कार्यसुचीअनुसार राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र अन्तर्गत विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद् सदस्यको कार्यभारसम्बन्धी पत्र अध्यक्षले बाचन गरेर सदनलाई जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पनि अध्यक्षले जानकारी गराएर बाधा अड्काउ फुकाउ आदेश सम्बन्धी विषय बैठकमा पेश हुने भएका छन्।
प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ।व। २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको हो ।
प्रधानमन्त्रीसँग संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग अलग कार्यसूची तयार पारिएको छ । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ । सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको छ ।
कानुनमन्त्री धनराज गुरुङ अकस्मात अस्पताल भर्ना
संसदीय मामिला तथा कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला बिहीबार एक्कासि असहज महसुस भएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथेरासिक ट्रान्सप्ललान्ट सेन्टरमा भर्ना गरिएको छ । गुरूङको मुटुको धड्कन कम र ब्लड प्रेसर कम देखिएको चिकित्सकहरूले बताएका छन्।
व्यावस्थापनको माग राख्दै कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा दिए धर्ना
कैलालीका पहिरो पिडितले व्यवस्थापनको माग गर्दै सुुदूूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् । बिहिबार गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका पहिरो पीडितले धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका हुुन् ।गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका एक सय ६९ घर परिवारले विगत २०७७ सालमा आएका पहिरोका कारण विस्थापित भएकाले मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष व्यवस्थापन गर्न माग गर्दै आएपनि प्रदेश सरकारले कुनै चासो नदेखाएपछि उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका हुन् ।
पहिरोबाट विस्थापित भएपछि चुरे गाउँपालिका–४ को पनेरुगडास्थित सामुुदायि वन क्षेत्रमा बसिरहेको बेला स्थानीय प्रशासनसँगको समन्वयमा डिभिजन वन कार्यालयले गत हटाएपछि व्यावस्थापनको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । पहिरोबाट विस्तापित भएकाहरुले सरकारले व्यावस्थापन गर्नुपर्नेमा उल्टै बेसहरा बनाएपछि उनीहरुले गुनासो व्यक्त गरेका छन ।
राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति निवासमा आज उनीहरुबीच भेटवार्ता भएको हो । सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । “उहाँले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गर्नुभयो”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गरेका छन।
कार्यालयमै थन्किए दुई लाख भन्दा बढी अनुमतिपत्र
नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौँ उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकडेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ ।
धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारीसाधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमतिपत्र चाहँदैनन् र वर्षौँसम्म त्यसै रहन्छ ।’
एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ‘ट्रायल’ पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई अनुमतिपत्र छापिने गरेको उनले बताए । राज्यले दोहोरो परिचयपत्र छाप्नुपर्दा घाटा र अर्कातर्फ यातायात कार्यालयमा अनुमतिपत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीले बताए ।
तत्काली कृषि सचिव भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन आयोजना प्रमुख तथा सचिव भारीसहित अन्य सबइन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन नि। निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक (कृषि अधिकृत) गुरुप्रसाद अधिकारी, लेखा अधिकृत उत्तमकुमार बस्नेत, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना,सुर्खेतका लेखा अधिकृत खिमलाल वली, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडा, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका सबइन्जिनियर सुवर्णराज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रालि, सुर्खेतको सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल, प्रबल शाही र इन्जिनियर महेश शर्माविरुद्ध मुद्दा दायर गरिएको छ ।




