काठमाडौँ । पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो ।
डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन् । आयातित कृषि आंँैजारको प्रयोग गर्ने चलन सुरु भएपछि परम्परागत कृषि औँजार निर्माण गरिने आरन पेसा हराउँदै गएको आरन पेसा सञ्चालन गर्ने विश्वकर्माले बताएका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रका सबै स्थानमा विद्युत् पुगिनसके पनि भनेको बेलामा मट्टितेल नपाइने र पहिलेजस्तो सल्लाको रुखबाट दियालोसमेत निकाल्न नपाइने भएकाले अध्यारोमा टुकी र दियालो बाल्ने परम्परा लोप हुन लागेका हुन् ।
“गाउँगाउँमा पुगेको विकासका कारण जिल्लाको ग्रामीण क्षेत्रका सर्वसाधारण हिजोआज टुकी र दियालोको साटो उज्यालोका लागि सोलार प्यानल प्रयोग गर्छन्” धवलागिरि गाउँपालिका– ७ का प्रकाश सुवेदीले भने, “एकपटक सोलार जडान गरेपछि अन्य कुनै खर्च नलाग्ने, आफूलाई चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउसमेत हुने भएकाले उनीहरुको आकर्षण बढेर गएको हो ।” पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि पछिल्लो समयमा भएको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको विकासले यी लोप भएको उनले बताएका छन् ।
८ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानलबाट न्यूनतम ३ देखि अधिकतम १० वटासम्म बत्ती बल्नुका साथै घरमा भएका रेडियो र टेलिभिजनसमेत चलाउन सकिने भएपछि केन्द्रिय प्रशारण लाइनको विद्युत् सेवा नपुगेका म्याग्दीका दुर्गम गाउँमासमेत टुकी र दियालो छोडेर स्थानीयवासीले सोलार प्रयोग गर्न थालेका रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुर्जाले बताएका छन् ।
सोलार जडान गरेपछि राति छोराछोरीलाई पढ्न र आफूलाई टेलिभिजन हेर्नसमेत सजिलो भएको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले बताएका छन् । गाउँले वैैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित् प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् ।




