काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्र्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा शुभारम्भ गरे ।
नेपालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्ने कार्यक्रममा मन्त्री गुरुङले नेपालको एकजना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आट गरेर विश्वमा ख्याती कमाउने कार्यको सराहना गरे ।
कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री रामवीर मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे ।
शुक्रवार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गरेका थिए । मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड संसारमै पहिलो हुनसक्ने भएकाले वल्र्ड बुक रेकर्डस् कायम गर्न बेलायतबाट पाँचजना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाशश्रेष्ठले जानकारी दिए ।




