काठमाडौं । अपि पावर कम्पनीले यस अघि अर्थात् कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले पुस ९ गतेदेखि १३ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. १०० अंकित मूल्यको सर्वसाधारणतर्फको उक्त शेयर खरीद गर्न चाहनेहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सबैभन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्ने आवेदकलाई शेयर वितरण गरिने कम्पनीले बताएको छ ।
कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंककोे शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, बीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही , नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ ।
कम्पनीले गत चैत १ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुका लागि १ बराबर शून्य दशमलव ४७ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र माग भए बमोजिम ४३ लाख २३ हजार ७८२ कित्ता शेयर मंसिर २१ गते बाँडफाँट गरिएको थियो ।




