काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत सुस्त भएपछि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका वा अघिल्लो दरलाई निरन्तरता दिएका छन्।
सार्वजनिक ब्याजदरअनुसार नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याज दिने भएका छन्। यस्तै, एनएमबी बैंक, सानिमा बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।
अन्य बैंकतर्फ नेपाल बैंकले ४.१५ प्रतिशत, एभरेस्ट बैंकले ४.०५ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.४६ प्रतिशतसम्म ब्याज दिनेछन्।
बचतमा कुन बैंकको कति ब्याज?
बचत निक्षेपतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एभरेस्ट बैंकले ३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्। कुमारी बैंकले ३.३१ प्रतिशत र एनआईसी एसिया बैंकले ३.२५ प्रतिशत ब्याज दिने भएका छन्।
त्यस्तै, प्रभु बैंक र नेपाल बैंकले ३ प्रतिशत, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले २.८० प्रतिशत तथा एनएमबी बैंक, ग्लोबल आईएमई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार निक्षेपकर्ताले मुद्दती तथा बचत खातामा पाउने प्रतिफल बैंकअनुसार फरक पर्नेछ।




