काठमाडौं । कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका ५ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका १ सय ९३ जनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानीमा राखेको छ । तीमध्ये पाँचजनामा संक्रमण पुष्टि भएको हो ।
निगरानीमा रहेका १ सय ९३ जना गत पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । “ भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो” उनले भने, “कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।”
उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वारेन्टिनमा राखिएको जानकारी दिए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।




