गोरखा। मङ्गलबार बिहानदेखि परेको अविरल वर्षाले गोरखा जिल्लामा मुख्य बाली धानमा क्षति पुर्याएको छ। यस वर्ष तिहारपश्चात् भित्र्याउन तयार गरिएको धानबालीमा पानी परेकोले किसानहरू चिन्तित भएका छन्।
गोरखा नगरपालिका–१० सिर्दीफाँटका किसान तुलबहादुर थापाका अनुसार, “धान काटेर खेतमा सुकाएका धेरैजसो किसानका बाली पानीमा डुबेका छन्। अझ काटिन बाँकी धान पनि पानीले बाला झारेको छ। वर्षाभन्दा पहिलेको मेहनत खेर जाने भयले हामीलाई तनाव दिइरहेको छ।”
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताएअनुसार, हालसम्म करिब १० प्रतिशत किसानले धान भित्र्याइसकेका छन् भने ४० प्रतिशतले काटिसकेका छन् र ५० प्रतिशतले काट्ने तयारी गरिरहेका छन्। बस्ताकोटीका अनुसार बेमौसमी वर्षाले मुख्यतः काटेर खेतमा सुकाइएको धानलाई क्षति पुर्याएको छ।
वर्षा रोकिएमा पाक्दै गरेका र काटेर सुकाइएका धानलाई केही दिन घाममा सुकाएर भित्र्याउन सकिन्छ। तर लगातार वर्षा भएमा बाली झर्ने सम्भावना रहेको कृषि प्राविधिकले चेतावनी दिनुभएको छ।
अघिल्ला वर्षसँग तुलना गर्दा यस वर्ष गोरखामा धान रोपाइँको क्षेत्रफल घटेर ८५६५ हेक्टरमा सीमित भएको छ। गत वर्ष ३९,९०० मेक्ट्रिकटन धान उत्पादन भएको थियो; यस वर्ष खडेरी, बाँझोपन र बेमौसमी वर्षाले उत्पादन घट्ने सम्भावना छ। यस वर्ष जिल्लामा रामधान, सावित्री, सुख्खा–२, च्याम्पियन र यूएस–३१२ लगायत उन्नत जात र हाइब्रिड धान रोपाइँ भएको छ।
जिल्लाको दरौँदीफाँट, सिर्दीफाँट, शेराफाँट, ज्यादुलफाँट, टारीफाँट, दर्बुङफाँट, बोर्लाङफाँट क्षेत्र बढी उत्पादन गर्ने स्थान हुन्। यद्यपि तल्लो भेगमा वर्षा, माथिल्लो भेगमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
चुमनुव्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले भने, “तीन हजार मिटरभन्दा माथिका गाउँहरू हिउँले ढाकिएका छन्। यहाँका बासिन्दा घरभित्रै बसिरहेका छन्, चौरीहरू पनि घरभित्र राखिएका छन्।” हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकले जानकारी दिएअनुसार, अहिलेसम्म जिल्लाका सडक अवरुद्ध भने भएका छैनन्।



