मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

साउन १ सोमबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।

हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्न देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बस्ने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका छन् । आफ्नो निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका हुन् । कांग्रेस नेता डा. शशांक कोइरालाका अनुसार सभापतिको प्रस्ताव अनुसार मंगलबारको बैठक मिडियामा प्रत्यक्ष प्रशारण हुने भएको छ ।काँग्रेसको केन्द्रीय समिती बैठक मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । आज तय भएका एजेन्डामाथि मंगलबार बैठकमा छलफल हुने भएको छ ।
चार दललाई १५ हजार जरिबाना गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार दललाई जरिबाना गर्ने भएको छ । आयोगको आज बसेको बैठकले पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पाटी, समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीलाई १५ हजार जरिबाना गर्ने निर्णय गरेको हो ।

आयोगका एक पदाधिकारीका अनुसार उनीहरूलाई सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गरी त्यसको सात दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको हो ।

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन् सम्पत्ति विवरण

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले सम्पत्ति विवरण बुझाएकी छन् । उनले सोमबार संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९–८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।

उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन् ।
संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई आग्रह गरेको छ।

४७.०७ अंकले बढ्यो नेप्से

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो कारोबारको दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । आइतबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से आज सोमबारको कारोबारमा उत्साह देखिएको हो ।

नेप्सेका अनुसार आज ४७.०७ अंकले बढेर नेप्से दुई हजार एक सय ४४ दशमलब १६ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा उत्साह देखिएपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज दुई अर्ब ५६ करोड एक लाख बराबरको कारोबार भएको छ ।

श्रम मन्त्रालयले बढायो स्वास्थ्य परीक्षणको शुल्क

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ । आइतबार मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।

श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गर्दै शुल्क बढाएका हुन् ।
शुल्कमा समायोजन गर्दै अब ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यावस्था गराएको जनाएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकले गर्ने स्वास्थ्य परिक्षणको सुल्क बढाउन बेला–बेला व्यवसायीहरूले दबाब दिएपछि शुल्क समायोजन गर्दै शुल्क बढाएको हो ।

बजेट कार्यान्वयन गर्न सचिवहरूलाई मुख्यसचिव अर्यालको निर्देशन

मुख्यसचिव बैकुण्ठ अर्यालले आर्थिक वर्ष ०८०–८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारी रुपमा कार्य गर्न विभिन्न मन्त्रालय र निकायका सचिवहरूलाई निर्देशन दिएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सिंहदरवारमा भएको बैठकमा अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् । उनले सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फछ्र्योटमा ध्यान दिन भनेका थिए ।

निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

हेटौँडा अस्पताललाई डायलासिस मेसिन

हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो ।

चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताईन। हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन् । हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ ।


नक्कली कागजात पेश गरी श्रम स्वीकृति लिएका तीन जना विमानस्थलबाट फिर्ता

अध्यागमन विभागले नक्कली कागजात पेश गरी श्रम स्वीकृति लिएका तीनजनालाई कुवेत जान प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । नक्कली कागजपत्र पेश गरेर श्रम स्वीकृति लिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कुवेत हिँडेका तीनजनालाई प्रस्थान अनुमति नदिई प्रक्राएको हो ।

अध्यागमनले चन्द्रबहादुर गुरुङ,राजकुमार श्रेष्ठ र काजीराम श्रेष्ठलाई कुवेत जाने अनुमति नदिइ फिर्ता पठाएको हो । उनीहरूले कुवेतको नक्कली कागजात सिभिल आइडी पेश गरी श्रम स्वीकृति लिएको खुलेको हो ।

रास्वपा उपसभापति डिपी अर्यालमाथि धम्की दिने विजय कालिकोटे प्रहरीको नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिने विजय कालिकोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोटाङक रूपाकोट मजुवागढी नगरपालिका–९ स्थायी ठेगाना भएका ३८ वर्षीय कालिकोटेलाई काठमाडौंँबाट खटिएको प्रहरी अनुसन्धानको टोलीले सोमबार कपनबाट प्रकाउ गरेको हो ।

असार २९ गते विजय कालिकोटेले रातको समयमा फोन तथा म्यासेजमार्फत् धम्की दिदैँ रास्वपा उपसभापति अर्याललाई कुनै व्यक्तिलाई सिध्याइदिने र त्यसका लागि सहयोग गर्नुपर्ने भन्दै अर्याललाई सम्पर्क गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *