देश

ईनम प्रकरणको निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटा प्रकरणमा सार्वजनिक भएका आरोप र उजुरीबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। उनले घटनाको वास्तविकता बाहिर ल्याउन प्रधानमन्त्रीसँग माग गर्दै प्रकरणको निष्पक्ष तथा पारदर्शी छानबिन आवश्यक रहेको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले ईनम सापकोटाकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित गम्भीर दाबीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

उजुरीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको, बयान दिए रिहा गर्ने तथा बयान नदिए फसाइदिने धम्की दिइएको भन्ने विषय सार्वजनिक भएको छ। शर्माले उक्त दाबी असत्य हो वा राज्यकै आडमा यस्ता गतिविधि भइरहेका छन् भन्नेबारे सरकारले नागरिकलाई प्रस्ट पार्नुपर्ने बताएका छन्।

उनले ईनम प्रकरणलाई रहस्यमय घटनाका रूपमा मात्र प्रस्तुत गरेर सत्यतथ्य लुकाउन नमिल्ने उल्लेख गर्दै नागरिकले घटनासँग जोडिएका सबै पक्षको वास्तविकता जान्न पाउनुपर्नेमा जोड दिएका छन्।

लोकतन्त्रको आधारभूत मान्यता पारदर्शिता भएको उल्लेख गर्दै शर्माले यस प्रकरणमा षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको बताएका छन्। अब आधा–अधुरा विवरणमा सीमित नभई सम्पूर्ण वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन संसद्ले नै अग्रसरता लिनुपर्ने धारणा राख्दै उनले निष्पक्ष छानबिनमार्फत आरोपहरूको निरूपण गर्नुपर्ने बताएका छन्।

यसअघि सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका ईनम सापकोटाले आफू र आफ्नो परिवारको जीवनरक्षाको माग गर्दै पत्नी कविता पाण्डे (सापकोटा) मार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीमा आफूलाई शारीरिक तथा मानसिक यातना दिँदै कांग्रेस सभापति गगन थापासहित विभिन्न राजनीतिक नेता, व्यवसायी र पूर्वप्रधानन्यायाधीशविरुद्ध बयान दिन दबाब दिइएको दाबी गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *