अर्थ

गरिबका लागि सुन अब अमृत जस्तै बन्ने भो, गलाभरी सिक्रि किन्ने सपना अधुरा !

नेपाली समाजमा सुनलाई केवल गहनाको रूपमा मात्र हेरिँदैन। विवाह, चाडपर्व, संस्कार र भविष्यको बचतसँग जोडिएको सुन अब सामान्य र मध्यम वर्गाीय परिवार न्यून आयआर्जन भएका नागरिकहरुका लागि अमृत जस्तै हुने आंकलन गरिएको छ । करिब एक दशक अघि तोलाको ६० देखि ८० हजार तोलामा पाइने सुन वर्तमान समयमा तोलाको करिब साँढे तीन लाख हाराहारीमा पुगेपछि मध्यमवर्गाीय परिवारका लागि यो विषय कथामा परिणत भएको छ । उनीहरुलाई सुन किनेर गलाभरी,कानभरी लगाउने जमान सकिए जस्तो लाग्ने गरेको उनीहरु बताउँछन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने गरिबका लागि त सुन किन्नु अहिले अमृत खोज्नुजस्तै कठिन बन्दै गएको छ। गलाभरी सुनको सिक्रि लगाउने सपना बोकेका धेरै नागरिकका लागि बढ्दो मूल्यले त्यो चाहना झन् अधुरो बनाइदिएको छ। तर धनी तथा उच्च आमदानी भएकाहरुका लागि यो मुल्य सामान्य नै लाग्ने बताउँछन् ।

सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार फेरि उकालो लागेको हो। सुनको मूल्य निरन्तर नयाँ उचाइतर्फ अघि बढ्दा विवाह तथा अन्य सामाजिक संस्कारका लागि गहना किन्ने योजना बनाएका परिवारमा आर्थिक दबाब थपिएको छ। पहिले केही तोला सुन जोड्ने सपना देख्नेहरू अहिले केही ग्राम गहना किन्न पनि पटकपटक सोच्नुपर्ने अवस्थामा पुगेका छन्।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ७६ हजार ६६५ रुपैयाँ कायम भएको छ। मूल्यको यो उकालो यात्राले सुनलाई परम्परागत रूपमा सुरक्षित बचत मान्ने निम्न तथा मध्यमवर्गीय परिवारसमेत प्रभावित भएका छन्। अन्तराष्ट्रिय बजारमा पनि सुनको मुल्य दिनप्रतिदिन बढ्दो अवस्थामा छ । एक्काईसौँ शताब्दीको उतारार्धमा संसारमा भएका प्राकृतिक खनिजहरुको मूल्य दिनरात उकालो गतिमा बढिरहेको छ ।

नेपालमा विवाहका बेला सुनको विशेष महत्व रहने गरेको छ। छोरीको विवाहका लागि वर्षौंसम्म थोरै–थोरै रकम बचत गरेर गहना जोड्ने परम्परा अझै धेरै परिवारमा कायम छ। तर मूल्य यसरी बढ्दै जाँदा पहिले बनाइएको बजेटले सोचेजति गहना किन्न नसकिने अवस्था सिर्जना भएको छ। गरिब परिवारका लागि सुनको एउटा सामान्य सिक्रि, औंठी वा मंगलसूत्र पनि अहिले ठूलो आर्थिक बोझ बन्न थालेको छ। केही वर्षअघिसम्म थोरै बचत गरेर सम्भव हुने गहना खरिद अहिले लाखौं रुपैयाँको विषय बनेको छ। यसले सुनलाई सजावटको वस्तुबाट क्रमशः सीमित वर्गको पहुँचमा रहने विलासी वस्तुतर्फ धकेलिरहेको अनुभूति हुन थालेको छ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने सोमबार सामान्य गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदीको मूल्य १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २५७ रुपैयाँ निर्धारण गरिएको छ। तर चाँदीको सामान्य गिरावटले पनि बजारमा सुनको बढ्दो मूल्यबाट सिर्जित चिन्ता कम गर्न सकेको छैन। सुन किन्ने योजनामा रहेका उपभोक्ता मूल्य अझै बढ्ने हो कि भन्ने चिन्तामा छन् भने गहना व्यवसायी पनि ग्राहकको खरिद क्षमता कमजोर हुँदै जाने जोखिम देखिरहेका छन्।

विशेषगरी न्यून आय भएका नागरिकका लागि सुन अब चाहनाको वस्तु मात्र होइन, क्रमशः ‘हेर्दा राम्रो तर हात नपुग्ने’ सम्पत्ति बन्न थालेको छ। गलामा सिक्रि, हातमा औंठी वा विवाहका लागि केही गहना किन्ने सामान्य सपना पनि महँगी र बढ्दो सुनको मूल्यसँगै पर धकेलिँदै गएको छ। सुनको चमक जति बढ्दै छ, सर्वसाधारणको पहुँच भने त्यति नै फिक्का बन्दै गएको देखिन्छ। आजको मूल्यले एउटा प्रश्न फेरि उठाएको छ-सुन अब साँच्चै गरिबका लागि अमृतसरह दुर्लभ बन्दै गएको हो त ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *