देश

झोलुङ्गे पुल बनेपछि घण्टौँ लाग्ने दूरी १० मिनेटमै सीमित

वालिङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीको आवतजावत सहज भएको छ।

गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं. ७ को सेनापुक जोड्ने ४४४ मिटर लामो पुल निर्माणपछि सेनापुकबाट सिद्धार्थ राजमार्गसम्म पुग्न लाग्ने समय एक घण्टाबाट घटेर करिब १० मिनेटमा सीमित भएको हो।

गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले पुल निर्माणपछि आँधीखोलापारिका बस्तीका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय तथा दैनिक आवतजावतमा सहज भएको बताए।

‘पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य तथा दैनिक जीवनयापनका लागि सहज भएको छ,’ उनले भने, ‘पुल निर्माणसँगै गल्याङलाई भौतिक, आर्थिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई विकासको नयाँ आयाममा अघि बढाउने अपेक्षा गरेका छौँ।’

सडक किनारमै रहेको अग्लो र लामो झोलुङ्गे पुल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने नगरप्रमुख भट्टराईको भनाइ छ। उनका अनुसार पर्यटकीय गतिविधि बढे यस क्षेत्रले आर्थिक लाभसमेत लिन सक्नेछ।

पुल निर्माणपछि कृषि तथा पशुपालनका लागि सम्भावनायुक्त क्षेत्रमा थप आर्थिक गतिविधि विस्तार हुने र गाउँबाट सहरतर्फ हुने बसाइँसराइसमेत घट्ने स्थानीयको अपेक्षा छ।

स्थानीय रामप्रसाद अर्यालका अनुसार पुल निर्माणअघि विद्यार्थीले गल्याङका विद्यालय पुग्न करिब पाँच किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता थियो। अहिले उक्त दूरी घटेर करिब दुई किलोमिटरमा सीमित भएको छ।

‘दैनिक बजार, विद्यालय र अस्पताल जान गाउँबाट अटोले तीन सयदेखि पाँच सय रुपैयाँसम्म लिने गरेको थियो,’ अर्यालले भने, ‘पुल तरेपछि सिद्धार्थ राजमार्ग पुगिन्छ। त्यहाँबाट जुनसुकै बेला गाडी पाइने भएकाले पहिलाभन्दा सस्तो र छिटो भएको छ।’

पुल नहुँदा साना विद्यार्थीलाई विद्यालय पठाउँदा खोलाको जोखिमका कारण अभिभावकले समेत साथ दिनुपर्ने अवस्था थियो। पुल सञ्चालनमा आएपछि उक्त समस्या पनि हटेको अर्यालले बताए।

पुलले स्थानीयको आवतजावत मात्र सहज नबनाई शिक्षा, स्वास्थ्य, व्यापार, कृषि, पर्यटन तथा समग्र सामाजिक–आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *