खेलकुद

अर्जेन्टिना-इङ्ल्यान्ड विश्वकप भिडन्त : चार दशकअघिको विवाद फेरि चर्चामा

काठमाडौं । सन २०२६मा अमेरिकामा जारी विश्वकप फुटबल खेलमा दुई शक्तिराष्ट्र आमनेसामने देखिएका छन् । विश्व फुटबलका दुई शक्तिशाली राष्ट्र अर्जेन्टिना र इङ्ल्यान्ड खेल हुने भएपछि सो विषयलाई निकै चर्चाका साथ हेरिएको छ । चार दशकभन्दा लामो समयदेखि खेलप्रेमीको स्मृतिमा रहेको प्रतिस्पर्धात्मक खेल इतिहास, राष्ट्रिय स्वाभिमान र भावनासँग जोडिएको प्रतिस्पर्धाका खेलको रुपमा हेरिएको छ ।

सन् २०२६ को फिफा विश्वकप अर्जेन्टिना र इङ्ल्यान्डबीचको सेमिफाइनल खेल बुधबार, जुलाई १५ मा अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुँदैछ। यी दुई देशबिचको खेलमा विश्वभरका करोडौँ समर्थकको ध्यान गएको छ । उक्त खेलले फेरि एकपटक पुराना सम्झना र विवादलाई चर्चामा ल्याउने छ ।

अर्जेन्टिना र इङ्ल्यान्डबीचको प्रतिस्पर्धा सामान्य खेल प्रतिद्वन्दी होइन। यसको पृष्ठभूमिमा सन् १९८२ को फकल्याण्ड (माल्भिनास) युद्ध जोडिएको छ। दक्षिण एटलान्टिकमा रहेको उक्त टापुको स्वामित्वलाई लिएर अर्जेन्टिना र बेलायतबीच भएको युद्धमा दुवै पक्षले ठूलो क्षति बेहोर्नु परेको थियो । युद्ध अन्त्य भए पनि त्यसको मनोवैज्ञानिक प्रभाव दुवै देशका नागरिक र समर्थकमा लामो समयसम्म कायम रह्यो।
सोही कारण दुई देशबीच हुने प्रत्येक फुटबल खेललाई सामान्य खेलभन्दा राष्ट्रिय प्रतिष्ठासँग जोडेर हेरिएको छ ।

सन् १९८६ : विश्व फुटबलकै सबैभन्दा चर्चित खेल

अर्जेन्टिना र इङ्ल्यान्डबीचको सबैभन्दा चर्चित भेट सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनलमा भएको थियो। त्यो खेल आज पनि विश्व फुटबल इतिहासको सबैभन्दा विवादास्पद र अविस्मरणीय खेलमध्ये एक मानिन्छ। अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले उक्त खेलमा दुई गोल गरेका थिए। पहिलो गोल उनले हातको सहायताले गरेका थिए, जुन रेफ्रीले देख्न नसकेपछि गोलको मान्यता पाएको थियो। पछि म्याराडोनाले त्यसलाई ह्यान्ड अफ गड अर्थात् ईश्वरको हातू भनेर टिप्पणी गरेका थिए। उक्त गोल आजसम्म फुटबल इतिहासकै सबैभन्दा विवादास्पद गोलमध्ये गनिन्छ।

तर त्यसको केही मिनेटपछि म्याराडोनाले आफ्नै हाफबाट बल अघि बढाउँदै पाँच इङ्लिस खेलाडीलाई छलाएर गरेको अर्को गोललाई भने धेरैले ूशताब्दीको उत्कृष्ट गोलू का रूपमा मूल्याङ्कन गरेका छन्। त्यो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो। फकल्याण्ड युद्धको चार वर्षपछि भएको उक्त जितलाई अर्जेन्टिनाका धेरै समर्थकले केवल खेलको विजय नभई राष्ट्रिय गौरवसँग जोडेर पनि व्याख्या गरेका थिए।

विश्वकपमा पटक–पटक प्रतिस्पर्धा

१९८६ पछि पनि यी दुई टोली विश्वकपमा पटक–पटक आमनेसामने भएका छन्। सन् १९९८ को विश्वकपमा बराबरीपछि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत जित निकालेको थियो भने सन् २००२ मा इङ्ल्यान्डले डेभिड बेकह्यामको पेनाल्टी गोलमार्फत अर्जेन्टिनामाथि १–० को जित दर्ता गरेको थियो। त्यसयता दुवै टोली विश्व फुटबलका बलिया दाबेदारका रूपमा रहँदै आए पनि विश्वकपको यति महत्वपूर्ण चरणमा पुनः भेट हुन लागेको यो अवसरले समर्थकमाझ विशेष उत्साह सिर्जना गरेको छ।

नयाँ पुस्ताको परीक्षा

यसपटक दुवै टोलीमा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीको बाहुल्य छ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधितर्फ अघि बढ्ने लक्ष्यमा छ भने इङ्ल्यान्ड दशकौँपछि विश्वकप जित्ने सपना पूरा गर्ने अभियानमा रहेको छ। फुटबल विश्लेषकहरूका अनुसार यसपटकको खेलमा पुरानो इतिहासभन्दा वर्तमान प्रदर्शन निर्णायक बन्नेछ। तर म्याराडोनाको ूह्यान्ड अफ गडू, फकल्याण्ड युद्धको स्मृति र विश्वकपका ऐतिहासिक प्रतिस्पर्धाले यो खेललाई अझ भावनात्मक र रोचक बनाएको छ। विश्व फुटबलका समर्थकहरू अहिले यही प्रतीक्षामा छन् –   के अर्जेन्टिनाले फेरि इतिहास दोहोर्याउनेछ, वा इङ्ल्यान्डले पुराना हारको बदला लिँदै नयाँ इतिहास रच्नेछ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *