काठमाडौँ । सडकमा थुप्रिएको फोहोरको डङ्गुर, खाल्डैखाल्डा परेका अस्तव्यस्त सडक, र ट्राफिक जामको सकस। एकातिर नागरिकहरू आफ्नो आधारभूत अधिकार र शासकीय उत्तरदायित्व माग्दै सडकमा आन्दोलित छन् भने अर्कोतिर सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री भने नागरिकको चित्कारप्रति उदासीन बन्दै फेसबुक स्टाटस र भिडियोमा मग्न देखिन्छन्। प्राय उनका प्रमूख सल्लाहकार र निकट्तमसँग मात्र खुलेर रमाउने आफ्नै शैलीका कारण आलोचनाको केन्द्रमा छन् प्रधानमन्त्री बालेन् ।
यो कुनै काल्पनिक कथा नभएर सार्वजनिक विश्लेषनात्मक कार्टुनले उजागर गरेको देशको समसामयिक राजनीतिक तथा सामाजिक बेथितिमाथिको तिखो प्रहार हो। चित्रमा प्रधानमन्त्री बालेन नेतृत्वको सरकारप्रति सर्वसाधारणको तीव्र आक्रोश र असन्तुष्टि स्पष्ट देखिन्छ। वास्तमा त्यो नै अहिले सडकदेखि संघीय संसदमा पनि सुनिन्छ । आन्दोलित नागरिकहरूले हातहातमा प्लेकार्ड बोकेर सरकारको असफलता र गैरजिम्मेवारीपनको कडा विरोध गरिरहेका छन्।
खोक्रा आश्वासन,बाचा धेरै, काम शून्य र कहिले काम ? कहिले परिणाम ?भन्दै जनताले सरकारको सुस्त कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
अस्तव्यस्त पूर्वाधार, सडकको खाल्डोले जनजीवन खत्तम भएको र सहर अस्तव्यस्त, वादा मात्रै व्यस्त भएको भन्दै सहरी व्यवस्थापनको धज्जी उडाइएको छ।
करदाताको पीडा, कर तिर्ने हामी, सुख लिने को ? भन्दै राज्यलाई कर बुझाएर पनि न्यूनतम सुविधा नपाएकोमा जनताले आक्रोश पोखेका छन्। सडकमै फोहोरको थुप्रो र ट्राफिक जाम (जाम) को चरम समस्या छ, जसको जिम्मेवारी लिन सरकार तयार देखिँदैन।
सफा सहर, गाउँघर, पारदर्शी शासन, जवाफदेही सरकार र ओभानो कुरा भन्दा पनि काम गरेर देखाउने नेतृत्वको नै नागरिकहरुले माग गरिरहेका छ्न ।
नागरिकहरू हामीले विश्वास गर्यौँ, तपाईंले उपेक्षा गर्नुभयो , भन्दै कराइरहँदा प्रधानमन्त्री भने आफ्नो कार्यकक्षको आरामदायी कुर्सीमा कालो चस्मा लगाएर ुफेसबुक मा व्यस्त देखिन्छन्। उनको हातमा रहेको मोबाइल र कार्यकक्षमा राखिएको सेल्फी पहिले, काम पछि लेखिएको कफी मग्ले वर्तमान नेतृत्वको पपुलिजम (लोकप्रियतावाद) र सामाजिक सञ्जालप्रतिको मोहलाई बडो गज्जबले व्यङ्ग्य गरेको छ।
प्रधानमन्त्रीको रूपमा प्रस्तुत पात्रको सोचाइ छ–म त फेसबुक र भिडियोमा व्यस्त छु, काम त भइरहेकै छ नि । यसले जनताको वास्तविक र धरातलीय समस्याभन्दा भर्चुअल संसारको वाहवाहीमा रमाउने शासकीय प्रवृत्तिलाई नाङ्गो पारिदिएको छ। उनको टेबलमा राखिएको नेमप्लेटमा व्यङ्ग्यात्मक रूपमा प्रधानमन्त्री (व्यस्त मान्छे) लेखिएको छ।
डस्टबिनमा ,जनताको आशा :
यस कार्टुनको सबैभन्दा मार्मिक पक्ष भनेको अगाडि राखिएको डस्टबिन (फोहोर फाल्ने भाँडो) हो। जसमा जनताको आशा लेखिएको छ र त्यसको वरिपरि सरकारले गरेका बाचा प्रतिवद्धता आश्वासन र योजनाु का कागजहरू फोहोरका रूपमा फालिएका छन्। यसले राजनीतिक दल र नेतृत्वले चुनावका बेला वा कुर्सीमा पुग्नुअघि गरेका कसमहरू सत्तामा पुगेपछि कसरी रद्दीको टोकरीमा पुग्छन् भन्ने तितो सत्यलाई चित्रण गरेको छ ।
यो विश्लेषनात्मक चित्रले नेपाली राजनीति र ब्युरोक्रेसीमा व्याप्त गफ धेरै, काम कम गर्ने प्रवृत्तिलाई ऐना देखाएको छ। जनता सडकमा धुलो, हिलो र कुशासनको मार खेपिरहन बाध्य छन् भने नेतृत्व सस्तो लोकप्रियता र प्रचारवाजीमा सीमित छ। सरकार समयमै गम्भीर र जवाफदेही नहुने हो भने जनताको आशा मात्र होइन, व्यवस्थाप्रतिको विश्वास नै सडकै सडक बगेर जाने निश्चित छ।




