राजनीति

तीन करोड नेपालीको नजर दिल्लीमा, सीमा विवादमा रवि लामिछानेको अडान कस्तो होला ?

काठमाडौं । नेपाल–भारत सीमा विवाद फेरि राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको “नेपालले पनि भारतको केही भूमि मिचेको” भन्ने अभिव्यक्तिपछि देशको राजनीति, कूटनीति र सडक एकैपटक तातेको छ । यही संवेदनशील घडीमा रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन् । त्यसैले अहिले तीन करोड नेपाली नागरिकको चासो एउटै विषयमा केन्द्रित भएको छ-सीमा विवादमा रविले कस्तो अडान लिन्छन् ?

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुरु भएको विवाद सामान्य राजनीतिक टिप्पणीमा सीमित रहेन । विपक्षी दलहरूले संसदमा स्पष्टीकरण मागेका छन् , कानुन व्यवसायीहरूले संवैधानिक प्रश्न उठाए, सडकमा प्रदर्शन चर्कियो र सीमाक्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको घटनाले परिस्थितिलाई अझ संवेदनशील बनायो ।

सुस्ता मा निर्माणाधीन तटबन्धको काम भारतीय सुरक्षाकर्मीको उपस्थितिपछि रोकिएको स्थानीय जनप्रतिनिधिहरूको दाबी छ । स्थानीय तहका अनुसार करिब १४ करोड रुपैयाँ लागतको आयोजना अवरुद्ध भएपछि सीमा क्षेत्रमा त्रास र असन्तोष बढेको छ । यसले नेपाली जनमानसमा “राजनीतिक अभिव्यक्ति र सीमाको यथार्थबीच सम्बन्ध छ कि ?” भन्ने प्रश्न पनि जन्माएको छ ।

यस्तै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई “क्रस बोर्डर अकुपेसन” अर्थात् सीमापार भोगाधिकार र प्राविधिक अध्ययनसँग जोडेर स्पष्टिकरण दिएको छ । मन्त्रालयले सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा अझै प्राविधिक तहमा विवाद समाधान हुन बाँकी रहेको जनाएको छ । तर सरकारको यो व्याख्याले पनि राजनीतिक विवाद पूर्ण रूपमा साम्य हुन सकेको छैन ।विशेषगरी विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ र परराष्ट्र मन्त्रालयको स्पष्टीकरणबीच स्पष्ट अन्तर रहेको बताएका छन् । रास्वपाभित्र पनि सीमा विवादलाई लिएर गम्भीर छलफल भइरहेको संकेत दिएको छ ।

यही बीचमा रास्वपा सभापति रवि लामिछानेको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भारतीय जनता पार्टीका नेता नीतिन नवीनको निमन्त्रणामा भएको यो भ्रमणलाई औपचारिक रूपमा राजनीतिक तथा कूटनीतिक भेटघाट भनिए पनि यसको समयले धेरै प्रश्न उठाएको छ । नेपालमा सीमा विवाद उत्कर्षमा पुगेको बेला भारत भ्रमणमा रहेका रविले त्यहाँ के बोल्छन्, कसरी प्रस्तुत हुन्छन् र नेपालको राष्ट्रिय हितबारे कस्तो सन्देश दिन्छन् भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ ।

रविका लागि यो भ्रमण केवल राजनीतिक भेटघाट मात्र होइन, राष्ट्रिय मुद्दामा आफ्नो राजनीतिक परिपक्वता प्रमाणित गर्ने अवसर पनि बनेको विश्लेषकहरूको भनाइ छ । उनी पछिल्ला वर्षमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएका नेता हुन् । त्यसैले सीमा, राष्ट्रियता र कूटनीतिक संवेदनशीलताजस्ता विषयमा उनको धारणा अब जनताले नजिकबाट मूल्यांकन गरिरहेका छन् । नेपाल–भारत सम्बन्ध इतिहास, भूगोल, अर्थतन्त्र र भावनासँग जोडिएको विषय हो । यस्तो अवस्थामा कुनै पनि नेताको अभिव्यक्ति वा अडानले दूरगामी प्रभाव पार्न सक्छ । त्यसैले अहिले धेरैको अपेक्षा छ-रवि लामिछानेले दिल्लीबाट फर्कँदा केवल भ्रमणको औपचारिकता होइन, राष्ट्रिय हितबारे स्पष्ट र सन्तुलित दृष्टिकोण पनि साथमा ल्याउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *