देश

सरकारको कार्यशैलीप्रति विश्वप्रकाशको कटाक्ष, रविलाई सोधे- ‘प्रधानमन्त्री समन्वयमा हुनुहुन्छ कि छैनन् ?’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै संसदीय मर्यादा कमजोर बन्दै गएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले राजनीतिक नेतृत्वको व्यवहारकै कारण संसदीय प्रणालीमाथि नागरिकको विश्वास कमजोर बन्दै गएको बताएका छन् । उनले रवि लामिछानेलाई प्रत्यक्ष मेन्सन गर्दै प्रधानमन्त्रीसँग समन्वय भइरहेको हो वा होइन भन्ने प्रश्नसमेत उठाएका छन् ।

शर्माले संसदीय पद्धति केवल संरचनाले मात्र प्रभावकारी नहुने, नेतृत्वको आचरण र जिम्मेवारीबोधले त्यसको स्तर निर्धारण गर्ने उल्लेख गरेका छन् । उनका अनुसार पछिल्ला गतिविधिले नागरिकमा आशा होइन, निराशा फैलाउने काम गरिरहेको छ ।

उनले फागुन २१ गते बनेको राजनीतिक विश्वासको वातावरण क्रमशः कमजोर बन्दै गएको उल्लेख गर्दै त्यसले लोकतान्त्रिक प्रणाली र देश दुवैलाई क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “के हुँदैछ मित्र यस्तो ? प्रधानमन्त्री तपाईंको समन्वयमा हुनुहुन्छ कि हुनुहुन्न ? संसदीय पद्धति आफैं सुन्दर बन्दैन, त्यो हाम्रो व्यवहारमा निर्भर हुन्छ ।”

शर्माले राजनीतिक नेतृत्वलाई पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार बन्न आग्रह गर्दै नागरिकमा निराशा होइन, विश्वास जगाउने वातावरण बनाउनुपर्ने धारणा राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *