देश

रास्वपाको सचिवालय बैठकः अव्यवस्थित बसोबास, उम्मेदवार छनोट र संगठन पुनर्संरचनाबारे महत्वपूर्ण निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को सचिवालय बैठकले अव्यवस्थित बसोबास व्यवस्थापनदेखि पार्टी संगठन सुदृढीकरणसम्मका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

वि।सं। २०८३ वैशाख २० मा बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले मुलुकभर देखिएको भूमिहीन तथा अव्यवस्थित बसोबास समस्यालाई समाधान गर्न सरकारले गठन गर्ने भनिएको अधिकार सम्पन्न प्राधिकरणको प्रक्रियालाई समर्थन गर्ने जनाएको छ।

पार्टीले वास्तविक भूमिहीन नागरिकको हक संरक्षणमा प्राथमिकता रहने स्पष्ट पार्दै अन्य संरचनामाथि कुनै कारबाही अघि बढाउनु अघि प्राधिकरणको प्रतिवेदन अनिवार्य हुने धारणा राखेको छ। साथै, स्थानीय तहहरूले गरिरहेका संरचना हटाउने कार्यलाई पनि सोही मर्मअनुसार व्यवस्थापन गर्न आग्रह गरिएको छ।

बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटका लागि तयार गरिएको “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३” पनि पारित गरेको छ। सो रूपरेखा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिन कुमार आचार्य को संयोजकत्वमा कार्यान्वयन तथा समन्वय समिति गठन गरिएको छ।

त्यसैगरी पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गरिएको छ भने प्रथम महाधिवेशन सफल बनाउन “महाधिवेशन कार्यविधि–२०८३” पनि पारित गरिएको छ। संगठनात्मक पुनर्संरचनाको क्रममा बागमती प्रदेश समितिको सिफारिसअनुसार रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनर्गठन गर्ने निर्णय समेत बैठकले गरेको छ। पार्टी प्रवक्ता मनिष झा का अनुसार यी निर्णयहरूले संगठनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *