जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेपछि अब संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन गर्ने भन्ने विषयमा बहस सुरु भएको छ । सोनल संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर विश्वासको मत लिनु अघि नै उनले राजीनामा दिएपछि राजनीतिक स्पष्टता नआएको हो ।
संविधानको धारा १६८(२) अनुसार बनेको सरकारले विश्वासको मत नलिएपछि अब फेरि सोही धाराअनुसार सरकार बन्ने कि धारा १६८(३) मा जाने भन्नेमा विवाद उत्पन्न भएको छ । धारा १६८(३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।
संविधानविद्हरुले १६८(२) अनुसार बनेको सरकारले विश्वासको मत नपाएमा वा पाउन नसकेर राजीनामा दिएपछि धारा १६८(३) बमोजिम नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतले सुदूरपश्चिम र गण्डकी प्रदेशका समान प्रकृतिका घटनामा यस्तै नजिर कायम गरेको पनि उनीहरूको भनाइ छ ।
तर केही संविधानविद्हरुले भने सोनलले विश्वासको मत नलिइ राजीनामा दिएकाले फेरि धारा १६८(२) नै लागू हुने तर्क गरेका छन् । उनीहरूका अनुसार १६८(२) अनुसारको सरकार बन्न नसके मात्र धारा १६८(३) मा जान सकिने व्यवस्था छ ।
सोनल जनता समाजवादी पार्टी, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । विश्वासको मतका लागि प्रक्रिया सुरु हुनुअघि नै बहुमत सुनिश्चित नदेखिएपछि उनले राजीनामा दिएका थिए ।
संविधानअनुसार, धारा १६८(२) अन्तर्गतको मुख्यमन्त्रीले विश्वासको मत नपाएमा वा पाउन नसकेमा धारा १६८(३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।



