काठमाडौं । नेपाली कांग्रेस भित्र आन्तरिक एकताको आवश्यकता अत्यधिक रहेको संवेदनशील घडीमा पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अझ गम्भीर संकटतर्फ धकेल्ने कदम चालिरहेका छन्। सभापति शेरबहादुर देउवा उपचाररत अवस्थामा रहँदा नेतृत्व परिवर्तन र महाधिवेशनको बहस उठाउनु उनीहरूको गैरजिम्मेवार राजनीतिक महत्वाकांक्षा बाहेक केही नभएको आलोचकहरूको टिप्पणी छ।
गगन थापाले ‘दुई विकल्प’ भन्दै नियमित वा विशेष महाधिवेशनको प्रस्ताव सार्वजनिक गर्दा पार्टीभित्रै तीव्र विवाद चर्किएको छ। थापाले पद त्याग्न तयार रहेको अभिव्यक्ति दिएर नाटकीय सन्देश दिन खोजे पनि यसलाई धेरै नेताहरूले ‘राजनीतिक स्टन्ट’ मात्र भनेका छन्। अर्कोतर्फ, विश्वप्रकाश शर्माले संसद् पुनःस्थापनाको माग नगर्नुपर्ने धारणा राख्दै जनताको आन्दोलनलाई आंशिक समर्थन दिनुले पार्टीको आधिकारिक लाइनलाई थप कमजोर बनाएको आरोप लाग्दैछ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले दुवै महामन्त्रीमाथि प्रत्यक्ष आक्रोश व्यक्त गर्दै ‘घाउमा नुन छर्ने’ काम गरेको टिप्पणीगरेका छन्। कांग्रेसका अन्य नेताहरूले समेत पार्टी कार्यालय जल्ने, सभापति देउवामाथि आक्रमण हुने पार्टी कार्यालयमा करोडौँको क्षति हुने जस्तो घटनापछि संगठनात्मक एकतामै जोड दिनुपर्ने बेलामा थापा–शर्मा जोडीले व्यक्तिगत महत्वाकांक्षा अघि सारेको भन्दै कडा आपत्ति जनाएका छन्।
कांग्रेस भित्र अहिले नियमित महाधिवेशन गर्नुको सट्टा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चलिरहेको छ भने सुदूरपश्चिमका नेताहरूले सो कदम पार्टी विभाजनको सूत्र बन्ने चेतावनी दिएका छन्। यस्तोमा महामन्त्रीद्वयको भूमिका एकता भन्दा पनि विभाजनलाई मलजल गर्ने किसिमको देखिएको छ। राजनीतिक विश्लेषकहरूले भनेजस्तै, “गम्भीर संकटको बेलामा नेतृत्वले संयमता देखाउनुपर्ने हो, तर कांग्रेसका दुई महामन्त्रीले अवसरवादको राजनीति गर्दै पार्टीलाई अनावश्यक जोखिमतर्फ धकेलेका छन्।” अब कांग्रेसले नियमित महाधिवेशनको मिति तोक्दै आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुनै उपयुक्त ठानिएको छ ।
लोकप्रियता कमाउनकै लागि कांग्रेसभित्र दुई महामन्त्री शर्मा र गगनले सभापति देउवामाथि विभिन्न टिक्काटिप्पणी गर्दै आएका थिए । सार्वजनिक कार्यक्रमहरुमा आफूलाई अन्य नेताको भन्दा उच्च शीर बनाउने उदेश्यका साथ पार्टीका गतिविधि समेत नकरात्मक भएको भन्दै विभिन्न आलोचनात्मक अभिव्यक्ति दिदैँ आएका थिए ।
जब अचानक भाद्र २३÷२४ गते जेनजी आन्दोलनकारीहरुले इतिहासमैँ नभएको बंगलादेशी शैलीमा नेपालमा पहिलो पटक विध्वशकारी घटना घटाएपछि जेनजी आन्दोलनलाई सामाजिक संजालमार्फत राहत थप्दै आएका महामन्त्री थापा र शर्मा पार्टीलाई थप संकटमा पार्ने रणनीतिमा लाग्न थालेको प्रष्टै छ । सभापति देउवा र उनकी पत्नी आरजु देउवा अस्पतलामा उपचारमा रहेका बेला महामन्त्रीहरु र दोस्रो तहका नेताहरुले पार्टीको निर्णय विपरित काम गर्न थालेपछि अहिले सो विषयमा गाउँदेखी शहरसम्म आलोचना जारी छ ।




