देश

प्रतिनिधिसभा नियमावली मस्यौदा अन्तिम चरणमा, महाभियोग विषयमा अझै छलफल बाँकी

काठमाडौं । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहे पनि अन्य अधिकांश विषय टुंगोमा पुगेको जनाएको छ । समितिका सभापति गणेश पराजुलीले मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनका अनुसार समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार सकिँदैछ । अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबार बस्ने बैठकले बाँकी विषय टुंगोमा पु¥याएर मस्यौदालाई अन्तिम रूप दिने तयारी गरिएको छ ।

महाभियोग लगायतका केही संवेदनशील विषय अझै बाँकी रहेको र ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी धारणा समेट्ने प्रयास भइरहेको उनले बताए । महाभियोगसम्बन्धी व्यवस्थामा फरक–फरक धारणा देखिएकाले बहुआयामिक छलफल आवश्यक रहेको उनको भनाइ छ ।

पराजुलीका अनुसार नियमावलीमा संसदीय इतिहास, विगतका अभ्यास र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने गरी काम भइरहेको छ । यसले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानून निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ ।

समितिले लोकतान्त्रिक अभ्यासलाई उच्च प्राथमिकता दिँदै सत्तापक्ष र प्रतिपक्ष दुवैको आवाज समेट्ने गरी नियमावली तयार पारिएको जनाएको छ । साथै सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेश सुनिश्चित गर्ने प्रावधान पनि मस्यौदामा राखिएको छ ।

समितिले आइतबार सभामुख डोल प्रसाद अर्याल तथा पूर्वमहासचिवहरूसँग सुझाव लिएको थियो । मस्यौदा निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरिएको पनि समितिले जनाएको छ ।

मस्यौदा प्रचलित कानून, अदालतका फैसला तथा यसअघिका संसदीय अभ्याससँग मेल खाने गरी तयार पारिएको समितिको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *