देश

कांग्रेस संकट मोडमा : गगन थापाको पाँचबुँदे ब्रिफिङ र दुई विकल्पमा पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको वर्तमान संकट मोडलाई सम्बोधन गर्न पाँचबुँदे ब्रिफिङसहित दुई विकल्प प्रस्तुत गरेका छन्। शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा थापाले कांग्रेस ‘विशेष चुनौतीपूर्ण अवस्थामा पुगेको’ भन्दै तत्कालै आत्मसमीक्षा र पुनर्गठन आवश्यक रहेको बताए। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पार्टीले नयाँ दायित्वका रूपमा सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ, आन्दोलनका क्रममा भएका क्षतिको छानबिन र संविधानको रक्षा गर्ने जिम्मेवारी बोकेको प्रष्ट पारे।

थापाले पार्टीलाई पुनर्गठन गर्न आवश्यक पर्ने उपायमा दुई विकल्प प्रस्ताव गरे। पार्टी विधानअनुसार २०८२ मंसिर मसान्तभित्रै नियमित महाधिवेशन सम्पन्न गर्ने। हालका क्रियाशील सदस्यलाई कायम राख्दै एक महिनाको लागि नयाँ सदस्यता खुलाउने र त्यसकै आधारमा निर्वाचन गर्ने।

नियमित महाधिवेशनमा सहमति नजुटे तत्कालै विशेष महाधिवेशन बोलाउने। विधानअनुसार केन्द्रीय कार्यसमिति वा सदस्यहरूको ४० प्रतिशतले विशेष कारणसहित प्रस्ताव गरेपछि तीन महिनाभित्र महाधिवेशन गर्न सकिने प्रावधान प्रयोग गर्ने। उनले पार्टीको पुनर्गठन यी दुई बाटामध्ये एकमार्फत मात्र सम्भव हुने स्पष्ट गर्दै, “तेस्रो विकल्प छैन” भने।

थापाले थपे, “हामीले विगतमा गरेका कमजोरी स्वीकार्दै आत्मसंकल्पका साथ अघि बढ्नुपर्छ। अहिले आउने नेतृत्वले मात्र पार्टीले जनताप्रति गर्नुपर्ने जिम्मेवारी पूरा गर्न सक्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *