राजनीति

जबज स्कुलमार्फत वैचारिक उत्तराधिकारी तयार गर्ने ज्ञवालीको घोषणा

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ लिँदै वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष अध्यक्ष ज्ञवालीसहित उपाध्यक्ष रामेश्वर फुयाँल, सचिव मधु तिम्सिना र कोषाध्यक्ष सरोज दाहालले शपथ ग्रहण गरे।

शपथपछि अध्यक्ष ज्ञवालीले मदन भण्डारी र जीवराज आश्रितको विचारलाई समाजमा स्थापित गर्न प्रतिष्ठानले विगत ३१ वर्षदेखि निरन्तर काम गर्दै आएको स्मरण गरे। उनले आगामी दिनमा संस्थालाई थप प्रभावकारी बनाउन आजै बैठक बस्ने जानकारी दिए।

ज्ञवालीका अनुसार प्रतिष्ठान चार मुख्य कार्यमा केन्द्रित हुनेछ। त्यसक्रममा, एमालेको केन्द्रीय स्कुल विभाग र प्रतिष्ठानबीच भएको समझदारीअनुसार, प्रतिष्ठानको भवनलाई पुनर्निर्माण गरी “जबज स्कुल” सञ्चालन गरिनेछ।

“विधान महाधिवेशनपछि स्कुल नियमित रूपमा सञ्चालन हुनेछ र यसमार्फत वैचारिक क्षेत्रमा योग्य उत्तराधिकारी, नेता र कार्यकर्ता तयार पार्नेछौं,” अध्यक्ष ज्ञवालीले स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *