काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी संगठनको अस्तित्व निषेध गर्ने निर्णयलाई “चरम अलोकतान्त्रिक” भन्दै आपत्ति जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्ञवालीले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विश्वविद्यालयभित्र विद्यार्थी संगठनका गतिविधि तथा उपस्थिति निषेध गर्ने निर्णय अस्वीकार्य भएको बताएका छन् । उनले यस्ता निर्णयले विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप हुने टिप्पणी गरेका छन् ।
ज्ञवालीले पञ्चायती कालमा समेत यस्तो विषयमा सरकार अगाडि नबढेको भन्दै अहिले विश्वविद्यालयका उपकुलपतिहरूले कसरी हस्ताक्षर गर्न सके भन्ने प्रश्न समेत उठाएका छन् ।
उनका अनुसार विद्यार्थी आन्दोलनमा समस्या भए पनि संगठनलाई निषेध गर्नु समाधान होइन । उनले समस्या समाधानका लागि संवाद, सहकार्य र विद्यार्थी आन्दोलनको सुधार आवश्यक रहेको बताएका छन् ।
ज्ञवालीले विद्यार्थी संगठनलाई हटाउनुको सट्टा उनीहरूलाई जिम्मेवार र रचनात्मक दिशामा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।




