राजनीति

बागमती कांग्रेस संसदीय दलमा नेताका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। बागमती प्रदेश सभा परिसरमा जारी मतदानमा सांसदहरूले आफ्नो मत दिइरहेका छन्। नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र हालै पदमुक्त भएका मुख्यमन्त्री बहादुर सिंह लामा प्रतिस्पर्धामा छन्। गत शुक्रबार दर्ता भएको अविश्वास प्रस्ताव मंगलबार पारित भएपछि लामा संसदीय दलको नेताबाट हटाइएका थिए।

प्रदेशमा कुल ३७ कांग्रेस सांसदमध्ये २२ जना बानियाँ पक्षमा र १५ जना लामाको पक्षमा देखिएका छन्। बहुमत पुर्‍याएर दलको नेतृत्व सम्हाल्न दुवै पक्ष प्रयासरत छन्। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहनेछ र त्यसपछि मतगणना सुरु हुनेछ। परिणाम सार्वजनिक भएसँगै बागमती कांग्रेसको नयाँ नेतृत्व तय हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *