देश

प्रचण्ड–जनार्दन तनाव चुलियो, नेकपा एससँग एकता खोज्दै प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीचको खुला शक्ति संघर्षसँगै पार्टीभित्र तनाव चुलिँदै गएको छ। शर्माले सार्वजनिक रूपमा प्रचण्डको नेतृत्वलाई चुनौति दिएपछि पार्टी अध्यक्ष ‘सुप्रिमो’ मा छटपटी बढेको हो।

लामो समयदेखि एकलौटी ढंगमा पार्टी सञ्चालन गर्दै आएका प्रचण्डलाई अब चुप लागेर नबस्ने चेतावनी जनार्दनले दिएपछि उनले रणनीति फेरिरहेका छन्। जनार्दन शर्माको पक्षमा नेतृत्व तहमै समर्थन बढ्दै गएको आभास पाएपछि प्रचण्डले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकीकरण गर्न सक्रियता बढाएका छन्।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले अध्यक्ष माधवकुमार नेपालसँग पछिल्ला दिनमा भेटवार्ता बाक्लो बनाएका छन्। अख्तियारमा मुद्दा दर्ता भइसकेका माधव नेपाल र नेकपा एसभित्रको आन्तरिक अस्थिरतालाई आधार बनाई प्रचण्डले एकताका लागि दवाव बढाएका हुन्। साथै, उनले नेपाललाई नेतृत्व छाड्न समेत दबाब दिइरहेका छन्।

तर नेकपा एसभित्र भने तत्काल एकताप्रति सकारात्मक वातावरण देखिएको छैन। एक नेताका अनुसार, “प्रचण्ड कमरेडले आजै-भोलि नै एकता गरिहालौं भन्नुभएको छ, तर हाम्रो बाध्यता फरक छ। अहिलेको अवस्थामा माओवादीसँग एकता गर्दा हाम्रो ठूलो पंक्ति एमालेतिर लाग्न सक्छ।”

यसअघि नेकपा एसका १० मध्ये ६ सांसद र १२५ भन्दा बढी केन्द्रीय सदस्य विभाजनको प्रयासमा लागेको सन्दर्भ उल्लेख गर्दै उनले प्रचण्डको प्रस्ताव तत्काल स्वीकार्न नसकिने संकेत गरेका छन्।

प्रचण्ड यसअघि बाबुराम भट्टराईबाट अलग भएको समूहलाई एकतामा ल्याइसकेका छन् भने महेन्द्र यादव नेतृत्वको अर्को समूहलाई समेत समायोजनको तयारीमा छन्। सरकारद्वारा अध्यादेश ल्याउने तयारी भएको बेला पनि प्रचण्ड–माधवबीच एकताको प्रयास भएको थियो, तर राष्ट्रपति रामचन्द्र पौडेलले एमालेलाई फाइदा हुने भन्दै अध्यादेश रोकेपछि त्यो प्रयास रोकिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *