देश

डिजिटल स्क्याममा फसेका ६१२ नेपालीको उद्धार, परराष्ट्र मन्त्रालयको सक्रियता बढ्यो

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा सञ्चालनमा रहेका अनलाइन डिजिटल स्क्यामिङ सेन्टरमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । तीमध्ये कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जना रहेका छन् ।

उद्धार कार्यका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले स्थानीय निकायसँग समन्वय गरी सक्रिय रूपमा काम गरिरहेका छन् । थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२१ यता कम्बोडिया भ्रमण गर्ने नेपालीको संख्या करिब २१ हजार पुगेको र तीमध्ये केही यस्ता ठगी केन्द्रमा संलग्न हुन सक्ने आशंका गरिएको छ । कम्बोडियाले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।

त्यस्तै, परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुन संशोधन गर्न तयार पारिएको विधेयकमाथि सरोकारवालासँग छलफल पनि तीव्र बनाएको छ । मन्त्री शिशिर खनालले संविधानअनुसार एनआरएनहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यसहित विधेयक छिट्टै संसद्मा पेस गरिने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *