काठमाडौं । नेपालका प्रमुख वामपन्थी दल माओवादी केन्द्रभित्रको नेतृत्व संघर्ष अब खुलेआम मञ्चमा पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)बीचको वैचारिक र सांगठनिक तनाव केवल आन्तरिक मुद्दा मात्रै रहेन, अब त्यो पार्टीको भविष्य नै प्रश्नवाचक बनाउने मोडमा पुगेको छ।
पार्टीभित्र जनवाद समाप्त भएको, सुशासनमा गम्भीर विचलन आएको र नेतृत्व सामन्ती चरित्रमा परिणत भएको जनार्दन शर्माको सार्वजनिक आरोपले पार्टी नेतृत्वको वैधता नै प्रश्नमा ल्याएको छ। अर्कोतर्फ, अध्यक्ष प्रचण्डले भिन्न मत राख्नेलाई ‘सिँगौरी खेल्न’ दिएको बताउँदै नेतृत्वको उदारतालाई नै कमजोरी ठहर गर्ने प्रतिक्रिया दिएका छन्। यी भनाइहरूले द्वन्द्व गहिरिएको प्रमाण दिन्छ।
शर्माको आलोचना खाली गुनासो मात्रै नभई, पार्टी पुनर्गठनको प्रस्ताव र वैकल्पिक नेतृत्व निर्माणको योजनामा रूपान्तरित हुँदैछ। शर्मासँग नेकपा महासचिव नेत्रविक्रम चन्द ुविप्लवु र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग वाम ध्रुवीकरणका सन्दर्भमा भइरहेका निरन्तर संवादले नयाँ वाम शक्ति निर्माणको सङ्केत दिएको छ। विप्लव र भुसालले दोस्रो पुस्ताका कम्युनिस्ट नेताहरूको एकता आवश्यक भएकोू भन्ने सन्देश दिँदै जुन अभियान थालेका छन्, त्यसमा शर्माको संलग्नता पार्टी संस्थापन पक्षका लागि चुनौतीपूर्ण बन्न सक्छ। वाम आन्दोलनको पुनर्संयोजन र वैचारिक पुनर्निर्माण गर्ने बहस अब भावनात्मक वा सैद्धान्तिक मात्रै रहेन, सांगठनिक गतिशीलतामा रूपान्तरित हुँदैछ।
जनार्दन शर्माले उठाएका केही ठोस प्रश्नहरू छन् — २०६४ सालमा प्रत्यक्ष चुनावमा १२० सिट जितेको माओवादी किन २०७९ सम्म आइपुग्दा १८ सिटमा सीमित भयो ? यो आलोचना केवल संगठनात्मक कमजोरीको चर्चा होइन । यो विगत १५ वर्षको नेतृत्वको पुनर्मूल्याङ्कन हो। प्रचण्ड नेतृत्वले आत्ममन्थनको सट्टा आलोचनालाई “गुटबन्दी र विभाजनको षड्यन्त्र” भनी चित्रित गर्नुले समस्या समाधान होइन, झन् जटिलता निम्त्याउँछ।
सार्वजनिक कार्यक्रममा मात्रै होइन, माओवादीभित्रको द्वन्द्व सामाजिक सञ्जालमा समेत व्यापक बनिरहेको छ। एकातर्फ शर्मालाई “पार्टी विभाजनको षड्यन्त्रकारी” ठहर गर्दै आलोचना गरिएको छ भने अर्कोतर्फ, सुदन किराती जस्ता नेताहरूले “चाकडी र चाप्लुसीको प्रवृत्तिविरुद्ध वैचारिक प्रतिवाद गर्न” आह्वान गरेका छन्।
यो केवल भावनाको विस्फोट होइन — सुदूरपश्चिम, रुकुमजस्ता जिल्लामा शर्माको सक्रियता, संगठन विभाग प्रमुखको भूमिकालाई उपयोग गर्दै नेतृत्वको विकल्प निर्माण गर्ने प्रयास स्पष्ट देखिन्छ। प्रचण्ड सचिवालयबाट शर्माको दौडधूपप्रति निगरानी र प्रश्न उठाइनु पनि गम्भीर सङ्केत हो। विप्लव, भुसाल र शर्माबीचको सम्वाद, र उनीहरूले ल्याउने सम्भावित रणनीतिक साझेदारी, माओवादीको संस्थापन पक्षलाई वाम आन्दोलनभित्रैबाट ठूला चुनौती दिने खाका बन्न सक्छ।
प्रचण्ड नेतृत्वको स्थायित्व, जनार्दन शर्माको वैचारिक असन्तुष्टि, र विप्लव(भुसालसँगको संवाद मिलेर माओवादी केन्द्र एक गहिरो मोडमा प्रवेश गरेको छ। पार्टीभित्रको द्वन्द्व अब विचार र नेतृत्वको संघर्ष मात्रै नभएर सांगठनिक भविष्यको निर्णायक युद्धमा परिणत हुन सक्ने सम्भावना प्रबल छ।
यदि प्रचण्ड नेतृत्वले असन्तुष्ट आवाजलाई दमन होइन, समावेश गर्ने साहसिक वैचारिक समीक्षा गर्न सकेन भने पार्टी विभाजन टार्न कठिन हुनेछ। अर्को पुस्ताका नेताहरूबीचको सम्वाद नयाँ बाम वैकल्पिक शक्ति निर्माणको सुरुआत बन्ने सम्भावना उच्च देखिन्छ। नेपालको वाम राजनीति फेरि एकपटक यथास्थितिविरुद्धको संघर्षतिर मोडिएको छ। तर योपटकको संघर्ष बन्दुक होइन, वैचारिक पुनर्संरचना र नेतृत्वको विकल्प निर्माणमा केन्द्रित देखिन्छ। यही मोडमा वाम आन्दोलन पुनर्जीवन पाउने कि विघटनमा जाने भन्ने प्रश्नको उत्तर निर्भर छ नेतृत्वले कसरी जवाफ दिन्छ भन्नेमा।




