काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले कार्यभार सम्हाल्ने दिनमै विद्यार्थी संगठनहरूबीच तीव्र असन्तोष देखिएको छ। माओवादी निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेविसंघ दुवैले नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएका छन्।
बुधबार बालुवाटारस्थित उपकुलपति कार्यालय बाहिर विरोध प्रदर्शनका साथ विद्यार्थीहरू जम्मा भएका थिए। अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरूले उपकुलपतिको नामपट्टिका फ्याँकेर नाराबाजी गरे, भने नेविसंघले भिजन पेपर सार्वजनिक नगरेसम्म काम गर्न नदिने चेतावनी दियो।
क्रान्तिकारी संगठनले उपकुलपति नियुक्ति प्रक्रियामा मेरिटोक्रेसी मिचिएको भन्दै फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिको तयारी पनि खारेज गर्न माग गरेको छ। उनीहरूको आरोप छ । डा. अर्याललाई राजनीतिक भागबन्डाको आधारमा नियुक्त गरिएको हो, जसले विश्वविद्यालयलाई ‘राजनीतिक प्रयोगशाला’ बनाउने खतरा छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति मार्फत सिफारिसकै भरमा नियुक्ति हुनु निन्दनीय भएको बताए। त्रिवि समिति सभापति विष्णु बडैलाले स्पष्ट भिजन र योग्यताको आधारमा नभई नियुक्ति हुनु ‘गम्भीर चिन्ताको विषय’ भएको बताए। यसैबीच, एमाले निकट अनेरास्ववियु भने उपकुलपति अर्यालको समर्थनमा उभिएको छ। अर्याल एमालेप्रति आस्थावान मानिन्छन्, जसले उनी नियुक्ति प्रक्रियामा राजनीतिक प्रभाव देखिएको आरोपलाई थप बल दिएको छ।
यो विवाद त्रिविमा बढ्दो राजनीतिक हस्तक्षेप र पारदर्शी नियुक्तिको आवश्यकतासँग जोडिएको छ। विद्यार्थी संगठनहरूले भिजन र सुधारको प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने संकेत दिएका छन्।




