राजनीति

गण्डकीका जनताको गुनासो : ‘राजनीतिक नेताबाट त थाकिसक्यौँ’

काठमाडौं । गण्डकी प्रदेशका जनताले राजनीतिक नेतृत्व र सरकारी सेवाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। हालै सार्वजनिक एक सर्वेक्षण अनुसार, नागरिकहरूले भ्रष्टाचार, नातावाद, घुसखोरी र रोजगारीका अवसरमा हुने राजनीतिक हस्तक्षेपलाई प्रमुख समस्या मानेका छन्।

पूरक एसियाले गण्डकी प्रदेशका ११ जिल्लाका १ हजार ६७ जनासँग गरेको “सार्वजनिक सेवा, सुशासन र नागरिक असन्तुष्टि सर्वेक्षण २०८२” मा सहभागी अधिकांशले वर्तमान राजनीतिक नेताहरूको शैलीप्रति आक्रोश व्यक्त गरेका हुन्।

सर्वेक्षणमा सहभागीमध्ये ९० प्रतिशत नागरिकले राजनीतिक नेतृत्वले भ्रष्टाचारीको संरक्षण गर्ने गरेको बताएका छन्। त्यस्तै, ८९।५ प्रतिशतले नेताहरू पद, शक्ति र अधिकारको दुरुपयोग गर्ने गरेका छन् भन्ने ठम्याएका छन्। राजनीतिक दलहरूको कामप्रति सन्तुष्टि देखाउने नागरिकको संख्या जम्मा ७ प्रतिशत मात्र छ। प्रदेश सरकारसँग २४।३ प्रतिशत र संघ सरकारसँग २२।५ प्रतिशत नागरिक सन्तुष्ट देखिए पनि यसले जनताको ठूलो हिस्साको गहिरो असन्तुष्टि झल्काउँछ।

यद्यपि, स्थानीय सरकारप्रति नागरिकको धारणा केही सकारात्मक देखिएको छ। ६३.६ प्रतिशतले स्थानीय तहको काम प्रभावकारी रहेको बताएका छन् भने ७७।३ प्रतिशतले सेवा लिँदा खासै अप्ठ्यारो नपरेको प्रतिक्रिया दिएका छन्। तर, पारदर्शिताका सवालमा भने स्थानीय सरकार पनि आलोचनाबाट जोगिएको छैन— ५०।२ प्रतिशतले स्थानीय तह पारदर्शी नभएको बताएका छन्।

सर्वेक्षण अनुसार, गण्डकी प्रदेशमा नागरिकले सेवा पाउन चिनजान खोज्नुपर्ने, चिया खर्चू बुझाएर मात्र काम अघि बढ्ने जस्ता अनुभव साझा गरेका छन्। ५३.८ प्रतिशतले घुस दिनु परेको अनुभव सुनाएका छन्। संघ मातहतका कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने जनाइएको छ, त्यसपछि प्रदेश र स्थानीय तह क्रमशः पछाडि छन्। ८६.८ प्रतिशत नागरिकले रोजगारी र अवसर नपाएर युवा विदेशिन बाध्य भएको बताएका छन्। देशमै उद्यम गर्न वातावरण छ भन्नेमा मात्र १८.६ प्रतिशत नागरिक सहमत देखिएका छन्।

समाधान के हो ?
सर्वेक्षणले गण्डकीका नागरिक लोकतान्त्रिक प्रणालीप्रति होइन, नेताको कार्यशैलीप्रति असन्तुष्ट रहेको देखाएको छ। स्थिर सरकार र दलभित्रको पुस्तान्तरणले असन्तुष्टि कम हुने आशा ८९ प्रतिशतले देखाएका छन्। ७८.४ प्रतिशत नागरिकले नयाँ पुस्तालाई नेतृत्वमा ल्याए मात्र गुनासो कम हुने ठानेका छन्।

सार्वजनिक सेवाको सुधार, पारदर्शिता, जवाफदेही राजनीतिक नेतृत्व र अवसरमा समान पहुँच—यिनै प्राथमिक मागसँगै गण्डकीका नागरिक अब नेताबाट शब्द होइन, कर्म देख्न चाहन्छन्। ूजनताको भरोसा फिर्ता ल्याउन नेताहरू बदलिनु पर्छ,भन्ने जनताको सन्देश प्रस्ट देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *