राजनीति

निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड विवाद : छानबिन समिति सक्रिय

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटिबारे छानबिन गर्न गठन गरिएको विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। बुधबार संघीय संसद् सचिवालय अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बैठक सुरु भएको हो।

विधेयकमा उल्लेख भएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थाले समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइन्युट तथा अडियो–भिडियो अभिलेखसँग मेल नखाने गरी फरक आशय दिएको भन्दै यो विषय विवादमा परेको हो। यही विषय अध्ययन र छानबिन गर्न सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा सात सदस्यीय विशेष समिति गठन गरेका हुन्। समितिमा कांग्रेसबाट परियारसँगै सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, र राप्रपाबाट रोशन कार्की सदस्य छन्।

अब समितिको जिम्मेवारी छ—सम्पूर्ण कागजात, छलफल र अभिलेखको अध्ययन गरी प्रतिवेदनमा कसरी गल्ती देखिएको भन्ने निष्कर्ष निकाल्नु। विधेयकको संवेदनशीलता र राज्य सेवाको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले यो छानबिनलाई निकै गम्भीर रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *