राजनीति

‘सिनो बोकेर हिँडिँदैन’ भन्दै बोलेपछि रामकुमारीलाई थप ७ दिनको अल्टिमेटम, पार्टीको निर्देशन नमान्ने अडानमा झाँक्री

काठमाडौं । नेकपा (एस) नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरणका लागि थप ७ दिनको समय दिएको छ। लुम्बिनीमा दिएको विवादास्पद अभिव्यक्तिपछि उनीमाथि पार्टीभित्र कारबाहीको प्रक्रिया अघि बढेको हो।  यसअघि पार्टीले उनलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । तर उनले पार्टीको निर्देशनलाई अवज्ञा गर्दै मिडियामा अन्तवार्ता दिर्दै थप असन्तुष्टि पोख्दै पार्टीको निर्देशनले केही नहुने बताएकी थिइन् । तीन दिनभित्रमा स्पष्टीकरण नपठाएपछि पार्टीले थप सात दिनको म्याद थप गरेको हो । c

अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै झाँक्रीले सिनो बोकेर हिँड्न नसकिने भन्दै नेतृत्व फेर्न अर्ली महाधिवेशनको माग गरेकी थिइन्। सो अभिव्यक्तिलाई लिएर नेकपा एसको सचिवालयमा तीव्र असन्तोष पैदा भएको छ। पार्टी सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार, “उहाँलाई ७ दिनको समय दिइएको छ। चित्त बुझ्ने ढंगले आत्मालोचना नगरे थप कारबाही हुन्छ। अधिकांश नेताहरूले निष्कासनको पक्षमा राय दिएका छन्।”

नेता प्रकाश ज्वालाले अबदेखि पार्टीलाई असर पार्ने अभिव्यक्ति नदिने, भ्रम सिर्जना नगर्ने सर्तसहित ७ दिनभित्र आत्मालोचना गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिए। आजको बैठकमा झाँक्रीप्रति सचेत गराउने, निलम्बन गर्ने वा निष्कासन गर्ने विकल्पमाथि बहस भएको थियो। केही नेताहरूले भने उनलाई आत्मालोचनाको मौका दिनुपर्ने पक्षमा मत राखेका थिए।

पार्टीले अब केही दिन पर्खिएर झाँक्रीको लिखित जवाफ आएपछि अन्तिम निर्णय गर्ने जनाएको छ। यद्यपि, नेताहरूको भनाइमा अब “पछि हट्ने ठाउँ छैन” भन्ने चेतावनी पनि दिइएको छ। अहिले एकिकृतपार्टीभित्र सो अभिव्यक्तिका कारण पार्टीभित्र विभिन्न किसिमका धारणको जन्म भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *