देश

रसुवाको बाढी विपत्तिपछि प्रधानमन्त्रीको निरीक्षण, उद्धार र क्षति मूल्याङ्कन तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार स्थलगत निरीक्षणका लागि प्रभावित क्षेत्रमा पुगेका छन्।
उनीसँग गृह, अर्थमन्त्री, गृह सचिव र अन्य उच्च सरकारी अधिकारीहरूको टोली पनि संलग्न रहेको छ । प्रधानमन्त्रीले बेपत्ता व्यक्तिको खोजी, सुख्खा बन्दरगाहमा पुगेको क्षति, मालबाहक कन्टेनर बगाउँदा भएको क्षति लगायतका विषयमा स्थानीय प्रशासन, जनप्रतिनिधि र नागरिकहरूसँग छलफल गरेका छन् ।

सोमबार राति ल्हेन्दे खोलाबाट आएको बाढीका कारण ६ चिनियाँसहित १८ जना अझै बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अहिलेसम्म ५७ जनाको उद्धार गरेको छ ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको थियो। साथसाथै, १०० भन्दा बढी गाडी, रसुवागढी हाइड्रोपावरको ड्याम, ईभी चार्जिङ स्टेशन, र स्याफ्रुबेँसी सडकमा समेत क्षति पुगेको छ। भन्सार विभागले आजका लागि सम्पूर्ण आयात–निर्यात बन्द गरिएको जनाएको छ।

उद्योगमन्त्री दामोदर भण्डारीका अनुसार चीन सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको करिब ७५५ काम पूरा भइसकेको थियो। तर बाढीले त्यहाँ ठूलो क्षति पु¥याएको र हालसम्म क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताएका छन्।

यस्तै बाढीले रसुवागढी, त्रिशूली थ्री ‘ए’, चिलिमे र बेनी हाइड्रोपावरमा क्षति पुर्‍याएको छ। रसुवागढी जलविद्युत सबैभन्दा बढी प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। बाँधको गेट बगेको र पुल समेत भत्किएको पुष्टि भएको छ। त्रिशूली नदी आसपास र बाढीग्रस्त क्षेत्रमा नेपाली सेना र सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। तर, बाढीको तीव्र बहावका कारण उद्धार चुनौतीपूर्ण बनेको छ। उद्धारमा खटिएका ११ सुरक्षाकर्मी नै फसेका थिए तर पछि उद्धार सफल भयो ।

जल तथा मौसम विज्ञान विभागले तिब्बत क्षेत्रतर्फको हिमताल फूटेको आशंका गर्दै त्रिशूली नदी र वेनिघाट आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रधानमन्त्रीले सबै कार्यक्रम स्थगित गर्दै उद्धारमा ध्यान केन्द्रित गर्ने निर्देशन दिइसकेका छन् भने गृह मन्त्रालयमा आकस्मिक बैठक पनि बसेको छ। सरकारले राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने बताइएको छ।

ल्हेन्दे खोलामा बाढी पहिरो : ५७ जनाको उद्धार, १८ अझै बेपत्ता

 

 

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *